बिदेशी डाक्टरले सुधारिन रत्ननगर टाँडीको बकुलहर अस्पताल
केही वर्षअघिसम्म पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या निकै कम थियो । दैनिक मुस्किलले ५ देखि १५ जना मात्रै जाने गरेका थिए ।
पूर्वी क्षेत्रको बिरामीको सहजताको लागि भनेर टाँडीमा स्थापना गरिएको भएपनि बिरामी भरतपुर आउने गरेका थिए । तर, आजभोलि रत्ननगर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि बिहानैदेखि बिरामीको लाइन लाग्छ । अस्पतालको सेवाप्रति विश्वास बढ्दै गएपछि बिरामीको संख्या बढेको छ । अहिले दैनिक २५० जना बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पतालको परिवर्तनले अहिले सबै दंग परेका छन् ।
स्वीट्जरल्याण्डकी पूर्व सांसद् ७३ वर्षीय डा. रुथ गोन्सेथको दिन आजभोलि रत्ननगरको बकुलहर अस्पतालको विकासमा बित्ने गरेको छ । आफ्नो देश छोडेर उनी नेपालीको सेवामा लागिपरेकी छिन् । उनी आएपछि अस्पतालको मुहार फेरिएको छ । अस्पतालमा दिने चिकित्सकीय सेवा र उपकरणको विकास गरी सरकारी अस्पतालप्रति आकर्षण बढाएकी छन् । गरिबले उपचार पाउन् भन्ने उदेश्यले डा. गोन्सेथ विगत २६ महिनादेखि यहाँ क्रियाशील छिन् । अस्पतालको व्यवस्थापनमा मात्र होइन बिरामीको उपचारमा पनि ध्यान दिन्छिन् । उनीसँग छालाको चेकजाँच गराउन नेपालका विभिन्न जिल्लाबाट आउने गरेका छन् । अहिले अस्पतालमा मृगौलारोगको उपचार, छालारोग, यौनरोग, हाडजोर्नी, प्रसूती रोगको विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । सुविधायुक्त तरिकाबाट शल्यक्रियासमेत हुने गरेको छ ।
डा. रुथ गोन्सेथको सक्रियतामा अस्पतालमा सुविधासम्पन्न उपकरण ल्याएकी छन् । अस्पतालको लागि करिब ३ करोड मूल्य बराबरको उपकरण अस्पतालमा जडान गरिएको छ । १ करोड ३५ लाख मूल्य बराबरको डायलाईसीस मेसिन रहेको छ । यसले मृगौला सफा गर्ने, रगत सफा गर्ने मेसिन रहेको छ । त्यस्तै वाटर सप्लाई मेसिन रहेको छ भने हेपाटाइटीस र एचआईभी भएकाहरुको लागि छुट्टै दुईवटा मेसिन राखिएका छन् । त्यस्तै १५÷१५ लाख पर्ने विभिन्न ६ वटा मेसिनसमेत राखिएको छ । २५ लाख रुपैयाँको लागतमा सुविधायुक्त प्रयोगशाला बनाइएको छ । अस्पतालमा महँगो रिमोर्टबाट चल्ने शैयाको व्यवस्था रहेको छ ।
अस्पतालमा विद्युतीय प्रयोग गरिएको छैन । ९५ लाखको सोलार जडान गर्दा डा. गोन्सेथले मात्रै ६५ लाख सहयोग गरेकी छन् भने बाँकी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहयोग गरेको हो । अस्पतालमा प्रयोग गरिएको सोलारबाट बढी भएको ऊर्जालाई अस्पताल छेउका घरमा दिने योजना रहेको छ । नेपालकै लागि भनेर उनले शान्ति मेड नेपाल नामक संस्था स्थापना गरेर स्वीट्जरल्याण्डबाट सहयोग ल्याउने गरेकी छिन् । उनी स्वीट्जरल्याण्डमा छालारोग विशेषज्ञ थिइन् । अस्पतालको सेवा र भौतिक विकासमा उनी लागिपरेकी छन् । “यो उमेरमा आफ्नै देशमा हुँदा यो उमेरमा कफी खाएर दिन कटाउने काम मात्रै हुन्थ्यो”, डा. रुथ गोन्सेथले भनिन्, “यहाँ मेरो सहयोगले सबैले सेवा पाएका छन्, बसिरहनुभन्दा केही गर्नु नै जिउनुको मज्जा छ ।” आफूले सकिञ्जेल सेवा गर्ने उनले बताइन् ।
पहिला उनी टाँडीकै गुञ्जमान अस्पतालमा काम गरेकी थिइन् । निजी भएकोले व्यवस्थापन पक्ष राम्रो नभएपछि उनी आफ्नै देश फर्किन लागेकी थिइन् । पछि रत्ननगर अस्पतालमा आएकी हुन् । अस्पतालमा कार्यरत चिकित्सकसहित आठ जनालाई तलब सुविधाअन्तर्गत मासिक तीन लाखभन्दा बढी व्यवस्था गरेकी छन् भने दुईजनालाई खर्च दिएर चिकित्सा विज्ञान पढाएकी छन् ।
उच्च माध्यमिक तह अध्ययन गर्दा उनलाई अफ्रिकी मुलुक आईभोरीकोष्टमा जाँदा काला र गोरा जातिको रंग विभेदबारे थाहा पाएपछि उनलाई गरिब क्षेत्रमा काम गर्ने इच्छा जागेको बताइन् । उनी २० वर्षअघि ट्रेकिङ गर्न पहिलोपटक नेपाल आएकी थिइन् । उनी ईकोलोजिकल ग्रीन पार्टीबाट १० वर्षसम्म सांसद भएकी थिइन् । स्वीट्जरल्याण्डमा रहँदा उनी डाक्टर फर ईन्भारोनमेन्ट संस्थाको अध्यक्षसमेत भइन् । वातावरण जोगाए स्वास्थ्य जोगिने भन्दै वातावरण संरक्षणमा जोड दिन्छिन् उनी । नेपालको लागि आर्थिक सहयोग जुटाउने अभियान पनि सञ्चालन गरेकी छिन । ‘स्वीट्जरल्याण्डमा गए कसैलाई सहयोग चाहिएन”, उनले भनिन्, “नेपालमा आफूले केही गर्दा जीवनको खुसी भेटेकी छु ।”
अस्पतालमा पूर्वदेखि पश्चिम नेपालबाट समेत आउने गरेका छन् । मृगौला र छालाको उपचारका लागि नमूना बनाउन लागेका छन् । धरासायी बनेको अस्पताल डा. गोन्सेथको आगमनले परिवर्तन भएको अस्पतालको अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक तथा उद्योग बाणिज्य संघ–रत्ननगरका महासचिव देवेन्द्रकुमार श्रेष्ठले बताए । “गोन्सेथ आएपछि अस्पतालको सेवामा ब्यापक परिवर्तन आएको छ”, श्रेष्ठले भने, “पहिला गरिब मात्रै आउने अस्पतालमा अहिले सबैको आकर्षण बढेको छ ।”
अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले डा. रुथ गोन्सेथको आगमनले अस्पतालको सेवामा प्रभावकारिता आएको बताए । २२ कठ्ठाको क्षेत्रफलमा रहेको अस्पतालमा हाल १५ शैयाको सुविधा छ । तर, बिरामीको संख्या बढेसँगै यो अपुग भएको छ । नेपाल सरकारसँग ५० शैयाको अनुमति माग गरिएको छ । २०६१ सालमा स्थापना भएको अस्पतालको विकासको लागि करिब ५ करोडको गुरुयोजनाअनुसार काम थालिएको छ । एक महिनाभित्र निर्माण थालिएको अस्पतालको भवनका लागि माटो परीक्षण गर्ने काम भएको छ । डा. गोन्सेथले नै यसको निमार्ण गर्न लागेकी हुन् । आफू बाँचुञ्जेल नेपालको सेवा गर्ने गोन्सेथले बताइन् ।
