तोरीमा उकासिदै चितवन
भरतपुर,१४ मंसिर ।
भरतपुर–७, कृष्णपुरमा वेदप्रसाद ढकालले १७ कठ्ठामा तोरी लगाएका छन् । उनले आफ्नो घरायसी प्रयोगका लागि तोरी लगाएका हुन् ।
उनले वर्सेनि तोरी खेती गर्दै आएका छन् । तर, उनीसँगै पहिले तोरीखेती गर्नेहरुले अहिले छाडिसकेका छन् । आजभोलि धेरैले तोरी लगाउन छोडेका छन् । तर, ढकालले लगातार तोरीबाली लगाउँदै आएका छन् । तोरी उत्पादनका हिसाबले चितवनलाई अग्रणी जिल्ला मानिन्छ । दस वर्षअघि हालसम्मकै कम उत्पादन भएको तोरी पछिल्ला वर्षहरुमा पुनः बढ्दो क्रममा छ । यससँगै चितवनमा मासिँदै गएको तोरी बाली लगाउन थालिएको हो ।
मुख्य तेलबालीको रुपमा रहेको तोरी लगाउने प्रचलन बढेर गएको छ । साढे दुई दशकअघि चितवनमा करिब १८ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुने गरेको थियो । त्यसबाट घटेर चार हजार हेक्टरमा मात्रै तोरीवाली हुने गरेको थियो । अहिले चितवनमा करिब १२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा हुने गरेको छ ।
जिल्ला कृषि कार्यालय चितवनका अनुसार वि.सं २०४६ साल ताका चितवनमा कूल १८ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुने गर्दथ्यो । जसबाट कूल २० हजार मेट्रिक टन तोरी उत्पादन भएको थियो । तर, उत्पादन क्षेत्र र उत्पादकत्वमा कमी आएपछि वि.सं २०६१ सालमा जम्मा २ हजार ८०० मेट्रिक टनमात्र तोरी उत्पादन भएको थियो । जतिबेला जम्मा ७ हेक्टरमा मात्र तोरी खेती भएको तथ्यांक छ ।
गतवर्ष १२ हजार २ सय हेक्टरमा तोरी बाली लगाइएको थियो । त्यसबाट १० हजार ३ सय ६० मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष फेरि बढ्ने अनुमान गरिएको छ । यसवर्ष १२ हजार ५ सय हेक्टरमा तोरीबाली हुने अनुमान गरिएको छ ।
चितवनको उत्पादनले तेल पर्याप्त नहुने भएकोले बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । तोरीखेतीको अवस्था पुरानो स्थितिमै पुग्ने विश्वास गरिएको छ ।
