रत्ननगर,९ मंसिर ।
तरकारीको क्रेट बोकेको फोटो सामाजिक सञ्जालमा अपलोड भएपछि गोर्खाकी कुसुम श्रेष्ठ एकाएक चर्चामा आइन् । तरकारीकै क्रेट बोकेको हुनाले उनले सामाजिक सञ्जालमा ‘तरकारीवाली’ को उपनाम पाईन् ।
त्यसपछि कुसुम एकाएक सामाजिक सञ्जाल हुदै अन्तराष्ट्रिय र राष्ट्रिय मिडियामा छाउन थालिन् । छोटो समयमै चर्चित भएपछि उनलाई फिल्म खेल्न र मोडलिङ गर्ने प्रस्ताव समेत आउन थाल्यो । गोर्खा भुम्लीचौक ८ की उनको इच्छा भने नर्स बन्ने थियो ।

तर परिवारको आर्थिक अवस्थाका कारण नर्सिङ पढ्न पाईनन् । पछि मोडलिङ गर्ने भनेर आएको समाचारमा उनको निकै आलोचना भयो । श्रेष्ठलाई अभिनय गर्ने प्रस्ताव पपुलर मल्टीमिडिया प्रालिले गरेको थियो । त्यसपछि उनलाई शिक्षालाईनै निरन्तरता दिन सयौ सुझावहरु आयो ।


परिवारसँग छलफल पश्चात उनले शिक्षालाईनै प्राथमिकता दिने मनसाय बनाइन् । श्रेष्ठको इच्छा अनुसारनै मल्टिमिडियाले स्नाकोत्तर सम्मको अध्ययन निशुल्क गराई दिने अवसर जुटायो । हाल चितवन रत्ननगर स्थित क्वेष्ट मोडल कलेजको ११ कक्षामा अध्ययनरत कुसुमलाई काठमाडौमा रहेको नेपाल मेघा कलेजले स्नातकदेखी स्नाकोत्तर सम्म छात्रवृत्ती प्रदान गर्ने निर्णय ग¥यो । त्यसमा समन्वयकारी भुमिका पपुलर मल्टिमिडियाले जुरायो ।


स्नातक र स्नाकोत्तर मात्रैको होईन् उनले कक्षा ११ र १२ पनि निशुल्क पढ्न पाउने भएकी छिन् । दुई वर्षका लागी उनी अध्ययनरत क्वेष्ट मोडल कलेज र पपुलर मल्टिमिडियाले ५०,५० प्रतिशत व्यहोर्ने सम्झौता भएको छ । क्वेष्ट मोडल कलेजमा बुधवार एक कार्यक्रम गरी निशुल्क अध्ययनका लागी शुल्क प्रदान गरियो भने स्नातक र स्नातकोत्तर पढ्नका लागी छात्रवृत्ती सम्झौतामा हस्ताक्षर गरियो । सम्झौतामा कुसुम,कुसुमका काका गोपीलाल श्रेष्ठ ,पपुलर मल्टिमिडियाका सञ्चालक शक्ति वल्दभले हस्ताक्षर गरेका छन् ।


कुसुमको चर्चित भएको घटनालाई अप्रत्याशित घटना लिएका उनका काका गोपीलाल श्रेष्ठले भने,“उच्च शिक्षा दिने परिवारको चाहना हो, यसलाई सकारात्मक रुपमा लिएर सहयोग गर्नुस् ।” मोडलिङ गर्ने भनेर आएको सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया शाख गिराउने खालका रहेको पनि पाईएकाले नकारात्मक प्रचार नगरिदिन उनका काका गोपीलालले आग्रह गरे । “कुसुमलाई चर्चित बनाउन सामाजिक सञ्जालको पावर देखियो”, गोपीलालले भने,“शिक्षा विना जीवन चल्दैन यसैलाई निरन्तरताका लागी सहयोगको अपेक्षा गर्दछु ।”गोपीलाल स्वयम शिक्षक हुन् ।


कुसुम काका गोपीलालसँगै रहेर क्वेष्ट मोडल कलेजमा अध्ययन गर्छिन् । कार्यक्रमका प्रमुख अतिथी साहित्यकार एवंम् विरेन्द्र क्याम्पसका पूर्व प्रमुख एलवी क्षेत्रीले जीवनको बाटो शिक्षा भएकाले पहिला अध्ययनपछि मात्रै अरु विकल्प सोच्नु पर्ने सुझाव दिए । चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेले सामाजिक सञ्जालमा अध्ययनकै लागी जोड दिएका सुझावहरु आएका हुनाले आफुहरुले शिक्षाकै लागी सहयोग गरेको बताए ।


क्वेष्ट मोडल कलेजका प्राचार्य जगदिश शर्माले यहाँ दुई वर्ष कुसुम अध्ययन गर्दा लाग्ने आधा खर्च कलेजले व्यहोर्ने जानकारी दिदै उनलाई कलेजको ब्राण्ड एम्वेस्डर समेत तोके । कलेजले गर्ने हरेक कार्यक्रमको व्यानरमा अव कुसुमको फोटो रहनेछ । शुल्क प्रदान तथा छात्रवृत्ती सम्झौता कार्यक्रममा चलचित्र निर्माता पुनम क्षेत्री गौतम, निर्देशक गोपाल लामिछाने, कलेजका प्राचार्य शर्मा, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम पपुलर मल्टिमिडियाका संचालक शक्ति वल्दभको अध्यक्षतामा भएको थियो ।
 
Top