कार्यकारी अधिकृतबाट सरकारी गाडीको दुरूपयोग,‘खैरहनी नगरपालिकाको गाडी आफन्त ओसार्न व्यस्त’
खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले नगरपालिकाको गाडी दुरूपयोग गरेको पाइएको छ ।
सरकारले कार्यकारी अधिकृत चढ्न नगरपालिकालाई दिएको गाडी कार्यकारी अधिकृत ढकालले चरम दुरूपयोग गरेका हुन् । ढकालले आफू चढ्ने बा २ झ १३४४ नम्बरको टाटा सुमो नगरपालिकाको काममा भन्दा आफ्नो व्यक्तिगत काममा प्रयोग गर्ने गरेको खैरहनीका स्थानीय तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर पोखरेलले बताए । कार्यकारी अधिकृत चितवनमा बस्ने र गाडी ढकालकी श्रीमतीले काठमाडौंमा चढेर हिडेकोसमेत पाइएको छ ।
नियमअनुसार कार्यकारी अधिकृतले समेत बेलुका ६ बजेपछि नगरपालिकाको गाडी प्रयोग गर्न पाइदैन । तर, खैरहनी नगरपालिकाको गाडी राति अबेरसम्म सौराहा, रत्ननगर, कुमरोजका विभिन्न स्थानहरुमा बिना काम गुडिरहेको अवस्थामा भेटिने गरेको पोखरेलले बताए । ‘नगरपालिकाको गाडी आफन्त ओसारपासारमै बढी प्रयोग हुने गरेको छ’, पोखरेलले भने, ‘विकास बजेट कटौती गरेर कार्यकारीले गाडीमा तेल हालेर आफन्त बोक्ने काम गरेका छन् ।’
खैरहनीका नागरिक अगुवाहरुले जिल्लाका विभिन्न क्षेत्रमा पुगेर कार्यकारी अधिकृत ढकालले होटलहरुमा खाजा खाने र त्यसको बिल नगरपालिकामा आएका अतिथिहरुलाई खाना खुवाएको भन्दै बिल पेस गर्ने गरेको कर्मचारी स्रोतले बताएका छन् । खाना खुवाएको भन्दै १५ देखि २० हजारको बिल पेस गर्ने गरिएको बुझिएको छ । कार्यकारी अधिकृत ढकालको कार्यशैलीप्रति विरोध जनाउँदै त्यहाँका राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरु आन्दोलित भएका छन् ।
कार्यकारी अधिकृत ढकालले सोलार जडान, सडक मर्मतमा कमिसन खाएको, व्यवस्थापनको काम नगरेको, फोहोर प्रशोधन केन्द्र निर्माणलाई बेवास्ता गरेको, नियम मिचेर बजेट वितरण गरेको, बजेटलाई किताबको रुपमा बाहिर नल्याएको, भूकम्पपछि बनेका योजनालाई लत्याएर आफू खुसी बजेट वितरण गरेको, विकास बजेट वितरण गर्ने र त्यहाँबाट कमिसन खाने गरेको, तीन टिप फोहोर उठाएर तीन लाख रूपैयाँ स्वाहा पारेका आरोप राजनीतिक दल तथा नागरिक समाजले लगाएका छन् ।
२०७२ साल मंसिर २१ गते सरूवा भई खैरहनी आएका ढकाललाई सरकारले गत असोजको अन्तिम हप्ता देवदह नगरपालिकामा सरूवा गरिसकेको छ । सरूवा भएका ढकाललाई खैरहनीका दल तथा नागरिक अगुवाहरुले बिदाई गर्न चाहेका छन् । दल तथा नागरिक अगुवाहरुले कार्यकारी अधिकृत ढकालको राजीनामा माग गर्दै बुधबार उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् । यसैबीच खैरहनीका केही राजनीतिक दल तथा नागरिक अगुवाहरुले सरुवा भएका ढकाललाई सोही ठाउँमा पढाउन पहल गरिदिन भन्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले ढकाललाई गत असार २७ गते काजफिर्ता बोलाएको थियो । काजफिर्ता बोलाउदा पनि राजनीतिक संरक्षणको आडमा उनी थमौती गरेर खैरहनीमै बसे । अहिले सरकारले सरूवा गर्दा पनि उनी अटेर गरेर गएका छैनन् । सरकारले खैरहनीमा सरूवा गरेर पठाएको अर्का कार्यकारी अधिकृतलाई समेत ढकालले धम्की दिएर खैरहनी नआउन भनेको बुझिएको छ । ज्ञापनपत्र बुभ्mदै प्रजिअ सिंहले ढकाललाई यहाँबाट पठाउन सरकारी पहल गर्ने राजनीति दल तथा नागरिक अगुवाहरु समक्ष बताएका थिए ।
