काठमाडौं । गत बर्ष यो समय सर्बत्र चर्चाको बिषय थियो चीनियाँ तेल। भारतले नाकाबन्दी लगाएपछि चीनबाट तेल ल्याउने बिकल्प बारे सरकारी अधिकारी देखि आम सर्वसाधारण सम्म आ-आफ्नै खाले चिन्तनमा थिए।

चीन सरकारले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा समेत दियो। तर, दिर्घकालिन रुपमा खरिद गर्ने उपाय निस्किन सकेको थिएन।



नाकाबन्दी खुलेसँगै यो बिषय आम चासोबाट हटि सकेको छ। यस्तो बेला एक चीनियाँ कम्पनीले भने नेपाललाई पेट्रोलियम आपूर्तिको प्रस्ताव राखेको सरकारी स्रोतले जनाएको छ।

चीनको सिनोम्याक हेबी इण्डष्ट्री कर्पोरेसनले नेपालमा पेट्रोलियम आपूर्ति गर्न प्रस्ताव गरेको हो। गत अक्टोबर २८ कर्पोरेसनले नेपाल आयल निगमलाई प्रस्ताव पठाइ आपूर्ति मन्त्रालयलाई बोधार्थ दिएको थियो।

चीनका राष्ट्रपति सि जिङफिङको भ्रमण स्थगित नभएको भए उनी नेपाल आएको मौकामा प्रस्ताव पेश गर्ने तयारी गरेको पनि कर्पोरेसनले जनाएको छ।

कर्पोरेसनले नेपालमा तेल आपूर्तीका लागि नेपाल आयल निगमसँग संयुक्त लगानीमा रिफाइन केन्द्र निर्माणको समेत प्रस्ताव गरेको छ। चिनको छिङ्खाइ प्रोभिन्स अन्तर्गतको झाङ्छिङ इन्डष्ट्रियल पार्कमा बार्षिक १० लाख टन क्षमताको रिफाइन केन्द्र निर्माण गरि नेपालमा तेल आपूर्ति गर्ने प्रस्तावमा उल्लेख छ।

त्यहाँ सम्म कच्चा  तेल नै ल्याएर कर्पोरेसनले नेपालका लागि प्रशोधन गरि दिने भनेको हो। प्रशोधन केन्द्र निर्माणका लागि आठ देखि १० महिना लाग्ने जनाइएको छ।

उक्त प्रशोधन केन्द्रका लागि कच्चा तेलको कोटा उपलब्ध गराउन चाइना नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (सिएनडिआरसि) लाई अनुरोध गर्ने जनाएको छ। सिएनडिआरसी चीनको नीति नियम तर्जुमा गर्ने निकाय हो।

कर्पोरेसनले नेपाललाई पेट्रोल, डिजेल, मट्टितेल तथा एलपि ग्यास गरि सबै खाले इन्धन दिन सक्ने जनाएको छ। ढुवानीका लागि ३० टन क्षमताका ३०० पेट्रोलियम ट्यांकर तथा त्यतिनै क्षमताका दस वटा एलपी ग्यास ट्यांकरको व्यवस्था गर्ने कर्पोरेसनको प्रस्तावमा उल्लेख छ।



कम्पनीले रिफाइन केन्द्र स्थापना गर्न प्रस्ताव गरेको पार्कबाट छ देखि आठ दिनमा पेट्रोलियम ट्याङ्कर केरुङ नाका आइपुग्ने जनाएको छ। त्यहाँको भाडा समेत प्रति लिटर एक चिनियाँ युआन लिने जनाइएको छ। पेट्रोलियमको मूल्य भने सहमतिमा तोके बमोजिम हुने उल्लेख छ।

कर्पोरेसनसँग थप छलफल गर्न मंसिर दोस्रो साता आपूर्ति मन्त्रालयका सचिव नेतृत्वमा विशेष टोली चीन जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

चीनसँग ईन्धन सम्झौताको मुख्य विषय पेट्रोलियम पदार्थको मूल्य रहेको हुँदा त्यसमै केन्द्रित भएर छलफल हुने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। 'भारतबाट किनेको भन्दा महंगो पर्न सक्छ, उनले भने- चिनियाँ तेलको गूणस्तर राम्रो रहने हुँदा मूल्यमा केहि फरक पर्न सक्छ।'

गत मार्चमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा दुई पक्ष बीच इन्धन कारोबारको सैद्धान्तिक सहमती भए पनि कार्यान्वयनको स्तरमा कुरा अघी बढेको थिएन।
 
Top