रत्ननगर । रत्ननगर नगरपालिका–३ का महिलाहरुको पाठेघरको मुखको परीक्षण सुरू गरिएको छ ।
रत्ननगर नगरपालिकाको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविका समन्वय समिति, वडा नागरिक मञ्च र जनचेतना आमा समूहको आयोजनामा महिलाहरुको पाठेघरको क्यान्सरको रोगथामको लागि अभियानकै रुपमा परीक्षण सुरू गरिएको हो । शिविरको पहिलो दिन २५ जनाको परीक्षण गरिएको थियो ।


शिविरमा डा.सरोजा पोखरेलले महिलाहरुको स्वास्थ्य परीक्षण गरेको थिइन् । परीक्षण गरिएका महिलालाई त्यहाँ उपलब्ध औषधि निःशुल्क वितरण गरिएको थियो । पहिलो दिन रत्ननगर ३ हाजीपुरमा स्वास्थ्य परीक्षण गरिएको र आगामी दिनमा रत्ननगर अस्पतालमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षणको व्यवस्था मिलाइएको महिला स्वास्थ्य स्वयंसेविका समन्वय समितिकी अध्यक्ष मीना गिरीले जानकारी दिइन् ।

यो अभियानअन्र्तगत ४०० महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने लक्ष्य रहेको उनले बताइन् ।
रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी जनचेतना आमा समूहकी अध्यक्ष सावित्री बराल, एमालेका ऋषबदेव थपलिया, सामाजिक परिचालक रमिला खड्कालगायतले बोलेका थिए । कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका समन्वय समितिकी अध्यक्ष मीना गिरीको अध्यक्षतामा भएको थियो ।

साभार : चितवन पोष्ट दैनिक 
 
Top