यो कस्तो मिलन ! जोया र जीवनले गरे चितवन अदालतमा कोर्ट म्यारिज
भरतपुर,४ मंसिर ।
फिलिपिनी नागरिक जोयालीन ग्रेस माइजारेस (जोया) र नेपालका जीवन मगरबीच जिल्ला अदालत चितवनमा अदालती विवाह भएको छ । दुवईमा कामका सिलसिलामा प्रेम सम्बन्ध कायम भएका यी जोडीको लोग्ने स्वास्नीको नाता कायम हुने गरी मिलापत्र भएको छ ।
फिलिपिन्समा गत असोज २५ गते ‘कोर्ट म्यारिज’ गरेको कागजपत्र उनीहरुले अदालतमा पेश गरेका थिए । “मलाई कसैले दबाब दिएको छैन”, जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित छलफल कार्यक्रममा जोयाले भनिन्, “हामी अब विगतमा फर्कन चाहन्नौं, हामीलाई खुसी हुन दिनुहोस्, सुन्दर भविष्य बनाउन दिनुहोस् ।” अंग्रेजी माध्यममा बोल्दै उनले महिला अधिकारकर्मीसामू भनिन्, “जोया हाम्रो बुहारी हो, जोया नेपाली हो भनेर मलाई नेपालीहरुले माया गरे, धन्यवाद दिन चाहन्छु ।”
उनका प्रेमी जीवन आफ्ना मामा कामे मगरसँगै जोया र बच्चाहरुलाई फर्काउन भदौ ३१ गते फिलिपिन्स पुगेका थिए । भोलिपल्ट जोया र जीवनबीच पुनर्मिलन भएको थियो । “मेरो परिवार पनि खुसी बन्यो, आमा र बाबा ज्यादै खुसी बन्नु भयो”, उनले भनिन्, “मेरो परिवारले एक मौका दिए, जागिर खोज, राम्रो जिन्दगी बिताउनु भन्नुभयो, नेपाल फर्किएँ ।” उनी फिलिपिन्स गएलगत्तै नेपाल फर्काउनुपर्छ भनेर अभियान नै चल्यो । आदर्श गृह र स्थानीय प्रशासनविरुद्ध डलर खाएको आरोपसमेत लाग्यो । “आदर्श गृह र यहाँका समुदायले ज्यादै ठूलो सहयोग गरें”, जोयाले भनिन्, “हामी एक अर्कासँग लड्न चाहन्नौं, ऊबेला श्रीमान्को गल्तीले यो सबै घटना भएको हो ।”
आर्थिक अभावले जोलिएको परिवारकी सदस्य बन्न पुगेकी जोया आफ्ना दुई छोराका साथ करिब तीन महिनाअघि फिलिपिन्स फर्किएकी थिइन् । उनलाई फिलिपिन्स फिर्ता गराउन चितवनको सामाजिक संस्था आदर्श गृहले सहजीकरण गरेको थियो । रत्ननगर–१ का जीवन मगर र फिलिपिन्स बकोलोडकी जोया २०६९ फागुन ३० गते नेपाली परम्पराअनुसार मन्दिरमा विवाह गरी बस्दै आएका थिए । तर, विवाह दर्ता भएको थिएन । २०७० कात्तिक ३ गते जेठो छोरा मिगेल, २०७२ असार २१ गते कान्छो छोरा एरिकलाई जन्म दिएका थिए ।
विदेशमा प्रेम सम्बन्धपछि ट्राभल भिषामा नेपाल आएकी जोयालाई उनका प्रेमीले सहजरुपमा विवाह दर्ता गरेनन् । जीवनका बुबा बलबहादुर मगरको उपचारमा जायजेथासमेत सकिपछि आर्थिक अभावमा यो जोडी रुमलिएको थियो । आफ्नै प्रेमीबाट माया पाउन नसकेपनि उनी सडकमा आउन बाध्य भइन् । सडकबाट उद्धार गरेर आदर्श गहृले चार महिना संरक्षण ग¥यो । जोयाले फर्कनेबेला नै पैसा कमाएर ५ वर्षपछि नेपाल फर्किने बताउँदै आएकी थिइन् । जोया एक महिनाका लागि टुरिष्ट भिषामा पुनः नेपाल फर्किएकी हुन् । गरिबीकै कारण नेपाल छाडेको बताउने जोयाले नेपालको आफ्नो परिवारबीच सुमधुर सम्बन्ध रहेको बताइन् ।
मलेसियास्थित नेपाली दूतावासले मिगेल र एरिकको ट्राभल डकुमेन्ट बनाई मनिलास्थित नेपाली कन्सुलेटमार्फत जोयाको घरमै ट्राभल डकुमेन्ट पठाई सहयोग गरेको थियो । यसबीचचमा जीवनलाई फिलिपिन्सको अध्यागमन, नेपाली कन्सुलेट र भारतीय दूतावासले पटक–पटक सोधपुछ गरेको थियो । “पहिलेजस्तो व्यवहार मबाट हुनेछैन”, जोयाका प्रेमी जीवन मगरले भने, “अब होटल तथा रेष्टुरेन्ट वा अन्य व्यवसाय गरेर बस्ने सोच छ ।” जोयालाई नेपाल फर्काउन संकलन भएको रकमबाटै आफूले व्यवसाय सुरु गर्ने उनले बताए । आर्दश गृह तथा स्थानीय प्रशासनले पटक पटक आफूलाई जोयालाई फिलिपिन्स फर्काउने बारेमा सोधपुछ गर्दा गरिबीकै कारण आफू मौन बसेको बताए ।
“एक महिना भिजिट भिषा सकेर नेपालमा उनलाई राख्न मलाई पनि समस्या थियो, बच्चाहरु पनि थिए, आर्थिक अभाव पनि थियो”, उनले भने, “अब सुन्दर भविष्य निर्माण गर्न प्रतिबद्ध भएर लाग्नेछु ।” सोलु ओखलढुंगा मगर समाज सेवा केन्द्रका सल्लाहकार महेश रानामगरले नेपालीको इज्जत जोगाउने काम भएको बताए । सुरुमा जोया र बच्चाहरुलाई अन्य वैकल्पिक उपाय गरी नेपालमै नराखिनु र जीवनले आवश्यक कागजात समयमै तयार नगर्नु नै ठूलो भूल भएको उनको भनाइ छ ।
आदर्श गृहकी संयोजक मीना खरेलले जोया र जीवनकै सल्लाहमा फिलिपिन्स पठाइएको बताइन् । उनी नेपाल फर्किएकोमा उनले खुसी व्यक्त गरिन् । आदर्श गृहमाथि लगाइएका मिथ्या आरोपहरुको स्वयं जोया र जीवनले प्रतिवाद गरेका छन् । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले कानूनी, सामाजिक सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको बताए । उनीहरुको पारिवारिक सुखद भविष्यको कामना गरे । जोयालाई ३ वर्षसम्म नेपाल प्रवेशमा लागेको प्रतिबन्ध भने हालसम्म फुकुवा भएको छैन ।
साभार : खबर चितवन
