भरतपुर । आफ्नै फार्मेसी सञ्चालनमा ल्याएपछि यतिखेर भरतपुर अस्पतालले बिरामीलाई सस्तो मूल्यमा औषधि बिक्री गरिरहेको छ ।
अन्य अस्पतालका फार्मेसी र समान्य फार्मेसी पसलको भन्दा आधा कम मूल्यमा औषधि बिक्री हुँदा त्यसको प्रत्यक्ष लाभ जनताले लिएका छन् । भरतपुर अस्पताल परिसरमा रहेको फार्मेसीमा औषधि किन्न आएका गीतानगरका श्याम विकले अन्य पसलको तुलनामा कम मूल्यमा औषधि पाइएको बताए । कम मूल्यमा औषधि पाउन थालेपछि भने जनताले अस्पतालमा राहतको महसुस गर्न थालेका छन् ।


‘अन्य औषधि पसलेले हामीलाई अधिकतम २ सय प्रतिशतसम्म ठग्ने गरेका रहेछन्, विकले भने, ‘तर यहाँ वास्तविक मूल्यमा औषधि पाउँदा राहतको महसुस भएको छ ।’ ट्याव्लेट, क्याप्सुल, सिरप, इन्जेक्सन, अप्रेशन सामग्री, स्लाइन सबै वस्तु बजार भाउ भन्दा आधा कम मूल्यमा बिक्री भइरहेको छ ।
अस्पतालका मेसु डा. रुद्र मरासिनीका अनुसार बजारमा बिक्री हुने भन्दा अधिकतम ७० प्रतिशत कम मूल्यमा औषधि बिक्री भइरहेको छ । सँगै रहेको साझाले पनि औषधि बेचिरहेको छ । जुन भरतपुर अस्पतालको भन्दा बढी मूल्यको छ । जसले गर्दा साझा र अन्य फार्मेसीमा औषधि किन्नेहरु पनि अहिले औषधि उपलब्ध भएसम्म अस्पतालकै फार्मेसीबाट किन्न थालेका छन् । अस्पतालले परेको मूल्यमा अधिकतम २० प्रतिशतमात्रै नाफा खाएर बेच्ने गरेको छ ।


हाल अस्पतालमा अत्यावश्यक ४०० प्रकृतिका औषधि उपलब्ध रहेको र थप ८०० प्रकृतिको औषधिको खरिदका लागि टेण्डर प्रक्रियामा गइसकिएको मेसु मरासिनीले जानकारी दिए । अस्पतालले टेण्डर प्रक्रियाबाट औषधि खरिद गरेर बिक्री गरिरहेको छ । टेण्डर पार्ने पक्षले बजार मूल्य भन्दा आधा घटेर टेण्डर गरी औषधि अस्पताललाई आपूर्ति गरिरहेको छ ।


भरतपुर अस्पतालले सस्तोमा औषधि बिक्री गर्दा भविष्यमा सम्बन्धित सप्लायर्सले अस्पतालको आपूर्तिकर्तालाई औषधि नदिइ समस्या पार्ने हुन् कि भन्ने आशंका पनि गर्न थालिएको छ । जनताले सेवासुविधा पाएको ठाउँमा भविष्यमा हुन सक्ने धोका प्रति भने राज्य चनाखो हुनु जरूरी छ ।
भरतपुर अस्पतालले हाल फार्मेसी सञ्चालन गरिरहेको स्थानबाट यसअघि मासिक १७ लाखसम्म भाडा लिएको थियो । जुन अस्पतालको बलियो आम्दानीको स्रोत रहेको थियो । अस्पतालले सञ्चालन गर्दा उक्त भाडा नपाइने र कर्मचारी खर्चका लागि थप ४ चार जति बोझ हुने देखिएको छ । ‘जनताले औषधि खरिदमा सहुलियत पाएकाले हामीले सरकारसँग अनुदान माग गरेका छौं, मेसु मरासिनीले भने, ‘वार्षिक १ करोड जति अनुदान दिए पनि हामी सहज रुपमा फार्मेसी चलाउन सक्षम हुन्छौं ।’

साभार : चितवन पोष्ट दैनिक 
 
Top