![]() |
| शक्तिखोर द्रबेटारमा पहाडकै आडमा रहेको लेयर्स कुखुरा फार्मको फोटो । |
शक्तिखोर । चितवनको पहाडी इलाकामा पनि ठूला पोल्ट्री फार्महरु स्थापना हुन थालेका छन् ।
शक्तिखोर जानेहरुले पहाडको खोचमा व्यवसायिक कुखुरा फार्म देख्न सक्ने छन् । जिल्लाको समथर क्षेत्रमा भन्दा जग्गाको मूल्य सस्तो भएका कारणले मात्रै नभएर जैविक सुरक्षाका दृष्टि पनि राम्रो भएका कारण पहाड उक्लन थालेको व्यवसायीहरु बताउँछन् ।
शक्तिखोर बजारबाट केही माथि कालिका नगरपालिकाको वडा नं. २ नयाँ टाँडीमा तीन वर्षअघि ह्याचरी स्थापना भएको छ । बजारभन्दा अलि पर उपरदाङगढी जाने बाटोमा कालिका नगरपालिका–१ द्रबेटारमा अण्डाका लागि पालिने लेयर्स कुखुराको भव्य फार्म रहेको छ । सिद्धिमा पनि अर्को फार्म निर्माणको काम सुरू भएको छ ।
हिलबर्ड ब्रिडिङ कम्पनीले नयाँ टाँडीमा लेयर्सको ह्याचरी स्थापना गरेको हो । आठजना सञ्चालक रहेको सो ह्याचरीले उत्पादन दिन सुरू गरेको छ । आठजना सञ्चालक मध्येका एक गोपी श्रेष्ठ ७० साल साउनमा निर्माण सुरू भएको ह्याचरीमा २५ हजार माउ कुखुरा राख्ने क्षमता छ । सो ठाउँमा ह्याचरी खुलेसँगै अन्यले पनि चासो देखाएका हुन् ।
‘हाम्रो लेयर्स फार्ममा ४० हजार कुखुरा रहेका छन् । अण्डा उत्पादन पनि सुरू भएको छ । लगभग छ महिना भयो फार्म तयार भएर चल्ला हालेको’ द्रबेटारमा रहेको कुखुरा फार्मका दुईजना सञ्चालक मध्येका एक दिनेश श्रेष्ठले भने । एकदम पहाडी खोचमै सो फार्म रहेको छ । स्थानीय जातका कुखुरा फाट्टफुट्ट पालिने क्षेत्रमा भव्य र आधुनिक व्यवसायिक कुखुरा फार्म झट्ट देख्दा अनौठा लाग्छ ।
मैदानी क्षेत्रमा जग्गाको मूल्य बढेपछि व्यवसायीहरु पहाड चढ्न लागेका हुन् । ‘तर जग्गा सस्तो भाउ पनि बाटोघाटो ढुवानीले गर्दा खर्च कम त हुँदैन । यहाँ आउनुको मुख्य कारण जैविक सुरक्षा पनि हो’ सञ्चालक श्रेष्ठले भने । बर्ड फ्लुलगायतका कुखुरामा हुने रोगहरुका कारण जैविक सुरक्षालाई महत्वपूर्ण मानिने गरिएको छ । मैदानी क्षेत्रमा खुला ठाउँ कम हुँदै गएको छ ।
पहाडमा खुला क्षेत्र प्रशस्तै भएका कारण जैविक सुरक्षा कायम राख्न सम्भव भएको दिनेश श्रेष्ठले बताए । आफूहरुले सिद्धि गाविसमा थप एक लाख कुखुरा अट्ने फार्म बनाउने काम सुरू गरेको उनले जानकारी दिए । सिद्धि तथा शक्तिखोर क्षेत्रमा यातायात सुविधा विस्तार हुने क्रममा रहेका कारण थप पोल्ट्री फार्महरु पनि खुल्ने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।
पोल्ट्रीका लागि चितवन जिल्ला नेपालमै अग्रणी मानिन्छ । नेपालको आधाभन्दा बढी पोल्ट्री उत्पादन चितवनमा हुने व्यवसायीहरुको भनाइ रहने गरेको छ । मैदानी क्षेत्रमा सहरीकरण तीव्र भएका कारण जग्गा महङ्गो हुँदा र आवास क्षेत्रमा पोल्ट्री फार्म राख्न समस्या हुने हुँदा पछिल्लो समय फार्महरु खुल्ने क्रम सुस्त भएको थियो । पहाडी क्षेत्रमा ठूला फार्म खुल्न सुरू भएका कारण केही राहत पुगेको छ ।
