चितवन, मंसिर ५ । पश्चिम चितवनको चित्रवनमा सुविधासम्पन्न रंगशालाको निर्माणका एकै दिन साढे चार लाख रूपैयाँ संकलन भएको छ । चित्रवन नगरपालिका  वडा नम्वर ५ गौचरनमा १० विगाहा क्षेत्रमा खेलकुद मैदान निर्माणका लागि शिलान्यास भएर निर्माण कार्य जारी छ ।


उक्त रंगशाला निर्माणका लागि स्थानीय बासिन्दाहरू सामाजिक सञ्जालबाट रकम संकलनमा जुटेका छन् । विदेशमा बस्ने नेपालीहरुद्धारा सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान शुरु गरेका हुन् । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) का केन्द्रिय सदस्य सोमप्रसाद सापकोटाको नेतृत्वमा आर्थिक संकलन अभियान थालिएको छ ।


शनिवारबाट शुरु अभियानको पहिलो दिनमा नै साँढे ४ लाख रूपैयाँ भन्दा बढी रकम संकलन भएको हो । यो अभियान एक महिनासम्म चलाइने छ । अभियान सञ्चालनका लागि विभिन्न देशहरूमा संयोजक तोकिएको उनले जानकारी दिए । कतार संयोजकमा प्रकाश अर्याल, युएई संयोजकमा गणेश न्यौपाने र सुनिल पौडेल, बहराईनमा बेदराज पौडेल, ईजरायलमा शान्ता ज्ञवाली र नयन सापकोटा, मलेसियामा रवि भट्टलाई संयोजक तोकिएको छ ।


त्यस्तै कुबेतमा डिवि लोप्चन र नविन लोप्चन, साईप्रसमा जोशु पुन मगर र कविता ढकाल, कोरियामा सुलभ पोखरेल र दिलकुमार श्रेष्ठ, आयरल्याण्डमा चेतराज वली, चेक रिपल्लिकमा जितेन्द्र रायमाझी तथा बेल्जियममा कृष्णप्रसाद रेग्मीलाई संयोजक तोकिएको छ । अभियानको सञ्चार संयोजकमा विष्णु चापागाईँलार्इ तोकिएको सापकोटाले जानकारी दिए ।


नेपाल सरकारको एक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान अवधारणा अनुसार यहाँ निर्माण शुरु भएको हो । रंगशाला निर्माणका लागि  ३ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त् रंगशाला निर्माण समिति र चित्रवन युवा तथा खेलकुद विकास समितिले अहिले रंगशाला निर्माणका लागि काम गरिरहेको छ ।


रंगशालामा हाईजम्प, लङजम्प, फुटवल, भलिवलका कोट निर्माण भैसकेको रंगशाला निर्माण समितिका अध्यक्ष टुकमान गुरुङले जानकारी दिए । उनका अनुसार सरकारबाट रंगशाला निर्माणका लागि १५ लाख सहयोग प्राप्त भएको छ । यहाँ ९५ मिटरको प्याराफिट बनाईने छ । करिव ३ हजार दर्शक अट्ने गरी निर्माण थालिएको निर्माण समितिले जनाएको छ ।


 
Top