मंसिर ७ – गुल्मीको पुर्कोट दहमा सुत्केरी आमाको निधन भएपछि दुई छोरी किरिया बसेका छन् । पुर्कोट दह–१ का  दुर्गा कुमारी भुसालको निधन भएपछि उहाँका छोरीहरु १३ वर्षकी संगीता र ११ वर्षकी रमिता किरिया बसेका हुन् । उनीहरू आमाको किरियामा बसेका होइनन् आमालाई दागबत्ती दिएका हुन् । कात्तिक २० गते सुत्केरी भएकी ३६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी पर्नुभएको थियो ।


उहाँको मंसिर तीन गते उपचारको क्रममा उनको निधन भएको थियो । ‘पक्षघातको कारण उहाँको निधन भएको हो’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भन्नुभयो ‘अहिले दुई छोरीहरू आमाको किरियामा बसेका छन् ।’


गाउँलेहरूकै सल्लाह अनुसार श्रीमानलाई किरिया नबसालेर छोरीहरूलाई किरिया बसालिएको हो । दुर्गाकुमारी पाँचांै सन्तान जन्माएपछि दिवंगत हुनुभएको हो । १३ वर्षकी संगीता र ११ वर्षकी रमिता किरिया बसेका छन् । ८ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएकाले किरियामा नराखिएको कुँवरले बताउनुभयो ।
दुर्गाकुमारीले पाँचौं सन्ताको रुपमा जन्माएकी छोरीलाई भने एक जना स्थानीयले धर्म छोरी बनाएका छन् । पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी–९ का विश्व भुसालले दुर्गाकुमारीकी कान्छी छोरीलाई धर्म छोरी बनाउनुभएको हो । .


दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँ तर्फको शरीर नचल्ने भएको थियो । आर्थिक अभावका कारणले उहाँलाई कतैपनि उपचार गर्न लगिएको थिएन । स्थानीयका अनुसार उहाँलाई गम्भीर भएपछि उपचारको लागि अर्घाखाँचीको सदरमुकाम संन्धिखर्क र त्यहाँबाट बुटवल पुर्‍याइएको थियो । तर अन्तिम अवस्था भएको कारणले उहाँको उपचार सम्भव भएन । उहाँका श्रीमान दुर्गा प्रसादको कुनैपनि आय आर्जनको बाटो छैन ।
अहिले १३ दिनको काम गर्नको लागि समेत सहयोग संकलनको काम भइरहेको शिक्षक कुँवरले बताएका छन् ।


‘सहयोग संकलनको काम गरिरहेका छौं’ उहाँले भन्नुभयो, ‘केही रकम संकलन पनि भएको छ ।’
दुर्गाकुमारीको परिवार गरिब भएकै कारणले दुर्गाप्रसादका दाजुभाइले किरिया समेत गर्न नमानेको उहाँको भनाई छ । घर व्यवहार  र अरु व्यवस्थापनका लागि श्रीमानलाई किरियामा नराखिएको उहाँले बताउनुभयो । कुँवरले बालिकाको अध्ययनका लागि सहयोग गर्न चाहानेहरुलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

Ujyaaloonline
 
Top