भण्डारा स्वास्थ्य चौकीमा बिरामीको चाप
भण्डारा । भण्डारा स्वास्थ्य चौकीबाट चालु आर्थिक वर्षको तीनमहिनामा चार हजार ७९४ जनाले ओपीडी सेवा लिएका छन् ।
आर्थिक वर्षको पहिलो महिना साउनमा एक हजार ८०३, भदौ महिनामा एकहजार ६६५ र असोज महिनामा एकहजार ३२६ जनाले ओपीडी सेवा लिएका स्वास्थ्य चौकीले जनाएको छ । असोज महिनामा दसैँ–तिहारसहितको लामो बिदाका कारण ओपीडी सेवा लिनेको संख्या केही कम भएको स्वास्थ्य चौकी प्रमुख दिनेश दूधराजले बताए ।
बर्षाको समय र जाडोको समयमा बढी मात्रामा बिरामीको चाप हुने उनले बताए । ‘चितवन जिल्लामा माडीपछि सबैभन्दा बढी बिरामीहरुले ओपीडी सेवा लिने स्वास्थ्य चौकी भनेकै भण्डारा स्वास्थ्य चौकी हो,’ उनले भने । विसं २०३२ सालमा स्थापना भएको भण्डारा स्वास्थ्य चौकीबाट गतवर्ष मात्रै २५ हजारभन्दा बढीले ओपीडी सेवा लिएका थिए ।
तर, स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति नहुँदा भने बिरामी जाँच तथा स्वास्थ्योपचारमा समस्या भएको उनले बताए । गतपुस महिनादेखि दुईजना अहेबको दरबन्दी खाली रहेकोले उपचारमा समस्या परेको उनले बताए । बिरामीको चाप अत्यधिक भएकोले बिरामी जाँचमै समस्या हुनुका साथै अन्य सेवाका लागि पनि अप्ठेरो परेको उनले बताए । कर्मचारीको माग गर्दै जिल्लामा पटक–पटक जानकारी गराउँदा पनि अहिलेसम्म कर्मचारी नपठाइएको स्वास्थ्य चौंकी प्रमुख दूधराजले बताए । उनकाअनुसार भण्डारा स्वास्थ्य चौंकीमा स्थायी दरबन्दीका कर्मचारीहरुमा कार्यालयको इञ्चार्जको रुपमा एक जना हेल्थ असिस्टेण्ट, ३ जना अहेब र दुई जना अनमी हुनु पर्नेमा दुईजना अहेबको दरबन्दी गत पुस महिनादेखि नै खाली रहेकोले काम गर्ने कर्मचारीको अभाव भएको हो ।
एकजना अहेबले पनि खोपको कार्यक्रम सञ्चालन गर्ने र सामान्य रुपमा ल्याबमा मलेरिया र टीबीको जाँच मात्रै गर्ने हुँदा ओपीडी सेवाका लागि समस्या भएको उनले बताए । ‘आवश्यक अहेब नभएकोले एक जना हेल्थ असिस्टेण्ट पनि कुनै बेला बिरामी हुँदा अथवा कुनै तालिमहरुमा जानुपर्दा ओपीडी सेवा नै बन्द गर्नुपर्ने स्थिति आउन सक्छ,’ उनले भने ।
साभार : चितवन पोष्ट दैनिक
