माडी,२८ कात्तिक ।
पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको चितवनको माडीमा सञ्चालित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे पर्यटकले रुचाएका छन् । ठूल्ठूला होटलमा रात बिताउने पर्यटक माडी नगरपालिका–११, शिवद्वारमा स्थानीयस्तरबाटै निर्माण गरिएको होमस्टेतर्फ आकर्षित भएका छन् ।


मगर जातिको बाहुल्यता रहेको सो ठाउँमा स्थानीय खाना र मगर जातिको कला संस्कृति हेर्नकै लागि भएपनि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । होमस्टे व्यवस्थापन समितिका अनुसार अहिलेसम्म करिब १ हजार ७ सय जना पर्यटक होमस्टेमा बास बसेका छन् । माडीको विभिन्न क्षेत्र अवलोकन गरेर पर्यटकहरु होमस्टेमा बास बस्ने गर्दछन् । “माडी घुम्न आउने पर्यटक खोजी–खोजी आउँछन्”, होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनले भने, “स्वदेशी पर्यटकले होमस्टे रुचाउँछन् ।”


उनका अनुसार ज्यादै नगण्य मात्रामा मात्रै विदेश पर्यटक होमस्टे आउँछन् । वर्षायाममा खासै पर्यटकको उपस्थिति नरहेपनि पछिल्लो समय दशैं तिहारपछि पर्यटकको आवागमन बाक्लो हुँदै आएको छ । वर्षायाममा बाटोको असुविधाका कारण पर्यटक त्यहाँ पुग्न सकेनन् । अहिले दैनिक सरदर १० जना पर्यटक होमस्टे बास बस्न आउने गरेको व्यवस्थापन समिति अध्यक्ष पुनले बताए ।


“अहिले घुम्ने समय पनि हो”, अध्यक्ष पुनले भने, “दशंैतिहारपछि संख्या ह्वात्तै बढेको छ ।” कार्तिक महिना नसकिदासम्म एक सय जना भन्दा बढी यहाँ आएको उनले बताए । पर्यटकको मनोरञ्जनका लागि स्थानीयले आफ्नो संस्कृति झल्कने नृत्यसमेत देखाउँछन् । साथै पर्यटकलाई स्थानीय खानाको परिकार खुवाइन्छ ।
“सुरुमा हामी स्वागत गर्छौं”, होमस्टे सञ्चालक चन्द्रबहादुर थापा भन्छन्, “बेलुका मनोरञ्जनका लागि एकै ठाउँमा जम्मा गराएर हाम्रो संस्कृतिको बारेमा जानकारी गराउनुका साथै नृत्य देखाउँछौं ।

” पर्यटकका लागि मगर जातिको सोरठी नाच देखाइन्छ । होमस्टे नजिक माछापोखरीहरु पनि छन् त्यहाँ ‘फिसिङ’ गर्न मिल्ने पनि व्यवस्था छ । यहाँ ११ वटा होमस्टे छन् । प्रत्येक होमस्टेमा दुई–दुई वटा कोठा छ । यहाँ बास वसेबापत १ रातको एउटा ओछ्याउनको दुई सय रुपैयाँ लिने गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा होमस्टे निर्माण गरिएको हो । गतवर्षको पुसमा तत्कालीन वनमन्त्री अग्नी सापकोटाले सो होमस्टेको उद्घाटन गरेका थिए ।


बास बस्नेबाहेक यहाँ तालिम गोष्ठीका लागि पनि विभिन्न संघसंस्था आउने गरेका छन् । करिब एक सय जना अट्ने गरी तालिम गोष्ठी गर्न मिल्ने एउटा हलको पनि व्यवस्था छ । माडीको होमस्टेमा बर्दिया, कञ्चनपुर, बाँके, काठमाडौं, चितवनको भरतपुर र पूर्वी क्षेत्रबाट समेत पर्यटक त्यहाँ पुग्ने गरेका छन् । माडीमा ऐतिहासिक वैकुण्ठधाम, पाँच पाण्डव धार्मिक स्थल छन् भने वनभोज खानका लागि उपयुक्त स्थान पनि छ ।
 
Top