भरतपुर उपमहानगरपालिकामा २५ वटा सुविधा सम्पन्न आधुनिक सिटी बस सञ्चालनमा आउने भएका छन्।

आइतबार नेपाल आइपुगेका यी बस आउने मंसिर १९ गतेदेखि सञ्चालनमा आउने सञ्चालक ‘ग्लोबल मेट्रोसिटी बस प्रालि’का अध्यक्ष बद्री अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

‘अस्ति बस चितवन आइपुग्यो,’ उनले भने, ‘रुट परमिट लगायतका कामका लागि केही दिन लाग्छ। १९ गते देखि हामी सञ्चालन गर्छौं।’ २६ सिट भएका यी बस तीन रुटमा चल्ने उनले जानकारी दिए।

बसमा नियमित यात्रा गर्ने यात्रीका लागि कार्डको व्यवस्था गरिएको छ। ९ सय रूपैंयामा एउटा कार्ड किनेपछि एक महिनासम्म कम्पनीका बसमा यात्रा गर्दा प्रत्येक पटक भाडा तिर्न  गर्न सकिने अधिकारीले बताए।

‘एउटा कार्ड एक महिनासम्म जतिपटक पनि प्रयोग गर्न पाइन्छ,’ उनले भने, ‘एक महिनापछि फेरि हामी अर्को रङको कार्ड जारी गर्छौं।’ बसको सुविधाबारे वर्णन गर्दै उनले भने, ‘नेपालमै पहिलो पटक यो स्तरको सिट प्रयोग गरिएको हो। यस्तो सिट दिल्लीको सिटीबसमा प्रयोग गरिएको छ।’

सिसीटिभी प्रयोग गरिएको बसमा यात्रीले वाइफाइ चलाउने पाउने छन्। प्रत्येक सिटमा मोबाइल चार्जरको सुविधा रहेको छ। यात्रीको मनोरञ्जनका लागि एलइडी डिस्प्ले राखिएको अधिकारीले बताए।  

बसमा यात्रा गर्ने जेष्ठ नागरिक र अपाङ्गका लागि कार्डका आधारमा निस्शुल्क यात्रा गर्ने व्यवस्था गरिएको उनले बताए।

‘केही समयपछि हामी आफैं कार्ड बनाउँछौं,’ नियमित यात्रा गर्ने जेष्ठ नागरिक र अपाङ्गलाई लक्षित गरेर कम्पनीले ल्याएको योजना उनले सुनाए।  बस भारतको टाटा कम्पनीले उत्पादन गरेको र ‘बडी’ भारतको नयाँ दिल्लीमा बनाइएको उनले जानकारी दिए।
 
Top