१० वर्षअघि दुवई गएको छोरो लिएर नेपाल फर्किएकी बद्रिमायाका आँसु रोकिएनन्
युएई , कात्तिक २२ – कुरा दश बर्ष पहिलेको हो । बद्रिमायाको परिवार श्रिमानको कमाइले जेनतेन चलिरहेकै थियो । अचानक परिवार पाल्ने श्रीमान् बिरामी हुनुभयो । घरको मुलीनै बिरामी भएपछि परिवारमा बज्रपात पर्यो । परिवार पाल्ने जिम्मेवारी घरको छोरो मनकुमार विश्वकर्माको काँधमा आइपर्यो ।
गाउँमा बसेर परिवार पाल्न मनकुमारलाई सजिलो थिएन । रोजगार नपाएपछि उहाँ कमाएर आमाबुवा पाल्ने र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर उमेर नपुग्दै उमेर बढाएर वैदेशिक रोजगारीका लागि युएई आउनुभयो ।
घरमा कसैको आयस्रोत नभएपछि उमेर बढाएर पासपोर्ट बनाउने र विदेशिने बाहेक अर्को उपाय मनकुमारले देख्नुभएन । त्यही बाध्यताले उहाँलाई १० वर्ष पहिले युएई ल्याएको हो । मोरङ घरभएका मनकुमार दुवईमा रहेको फ्युजन इन्टेरियर डिजाइन एलएलसी नामक कम्पनीमा दश वर्षदेखि काम गर्दै आउनुभएको थियो।
एक दिन मनकुमारका आमा बद्रीमायालाई फोन आयो 'तपाईंको छोरो मनकुमार कम्पनीमा काम गर्नेक्रममा तीन मिटर माथिबाट खसेर लड्यो, हामी उपचार गराइहेका छौं ।' यो खबरले बद्रीमायाका नौनारी गले । संसार पूरै भासिए जस्तो लाग्यो । पत्याउनै गाह्रो भयो बद्रीमायालाई । तर यथार्थ त्यही थियो । जुन फोनमा भनिएको थियो ।
मनकुमार दुवई मल क्षेत्रमा काम गर्ने क्रममा २८ अगष्ट २०१४ मा दुर्घटनामा पर्नुभयो । कम्पनीको कार्यस्थलमै झन्डै तीन मिटर माथिबाट उत्तानो खसेका मनकुमारको भुँइमा बझारिएर टाउकोमा गम्भीर चोट लाग्यो ।
अहिले उहाँ अरुको सहयोग बिना उठबस, हिँडडुल गर्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ । काठको मुडोझैं पल्टिरहनु हुन्छ । उहाँले बोलेको आवाज पनि प्रष्ट बुझ्नेगरी आउँदैन । तर अरुले बोलेको जेनतेन सुनेर संकेतमार्फत जवाफ भने दिनुहुन्छ ।
दुई महिना सम्म अस्पतालमा राखेर उपचार गर्दा निको नभएपछि कम्पनीले थप उपचार कोठामै राखेर गरायो । अस्पताले झण्डै एक बर्ष सम्म बिरामी कुर्नका लागि आफ्ना कर्मचारीलाई पालैसँग पठाएको दुवईमै कार्यरत मनकुमारका भाइ बाबु विश्वकर्माले बताउनुभयो ।
