फागुन २० – नवलपरासीको नयाँ बेलहानी–५ की बासमती मुसहरको काखमा बसेका छन् उहाँका कान्छा नाति । नाति काखमा लुटपुटिँदाको खुशी भन्दा उनीहरुकै भविष्यको चिन्ता धेरै त बासमतीलाई । कान्छा नाति ७ वर्षका भए अनि नातिनी ११ की । ठूलो नाति १५ वर्षका । तर उनीहरुको न बुवा साथमा छन् न त आमा नै । बुवा अम्बरबहादुर मुसहरको वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गयो । आमाले छोडेर हिँडिन् ।
अम्बरबहादुर डेढ वर्षअघि मलेसिया जानुभएको थियो । विदेश त्यो पनि मलेसिया गएको चाहिँ अम्बरबहादुरको परिवारलाई थाहा छ । तर न गएको म्यानपावरको नाम थाहा छ न त के कामका लागि गएको भन्ने नै । त्यसैले अम्बरबहादुरको परिवारलाई छोराका बारेमा अत्तोपत्तो थिएन । अहिले पनि केही थाहा छैन । ‘उसका कागजपत्र काठमाडौंमै होलान्, हामीलाई केही थाहा छैन’ बासमतीले अनविज्ञता जनाउनुभयो ।
छोराको ज्यान गएपछि बुहारी रमिया मुसहर पनि साउदी अरब जानुभयो । अरब पुगेको दुई महिनापछि उहाँले घर खर्च भन्दै झण्डै २० हजार पठाउनुभएको थियो । तर त्यसपछि उहाँले पैसा पठाउनुभएको छैन । पैसा पठाउन छोडेकी बुहारीले सम्पर्क गर्न छोडेको पनि एक वर्ष भन्दा बढी भयो ।
तर बुवाको निधन अनि आमा पनि साउदी अरबमै हराएपछि उनीहरुको पढाई प्रभावित भएको छ । अम्बरबहादुरका जेठा छोरा अजयले आमा हराएपछि पढाइ छोडेका छन् । अहिले उनी लेबर काम गर्दैछन् ।
खान लाउनै त समस्या छ कसरी पढाउँ ?
बासमतीसँग सम्पत्तिको नाममा एक कठ्ठा जग्गा मात्रै हो । त्यो पनि घडेरी । त्यसैले उब्जिनी गर्ने र कमाउने मेलो केही छैन बासमतीसँग । दुई छाक टार्न बासमतीका श्रीमान छनु मुसहर नयाँ बेलहानी पुलको नजिकै रहेको शौचालय सफा गर्ने काम गर्नुहुन्छ । यो कामबाट आउने दिनको डेढ सय रुपैयाँले घर खर्च चलाइरहनुभएको छ उहाँले ।
तर नातिनातिनालाई पढाउने पैसा उहाँसँग छैन । जेठो नातिले पढाइ छोडे पनि नातिनी र कान्छो नाति पढ्दैछन तर कमाउने स्रोत नभएकाले उनीहरुलाई पढाउन नसक्ने अवस्था पुगें भन्नुहुन्छ बासमती । ३ कक्षामा पढ्ने कान्छो नाति विजय अहिले सरकारी स्कूलमा पढ्दै छन् । उनले हजुरआमासँग आफूलाई पनि साथीहरु जस्तै बोर्डिङमा पढाउन भनेका थिए । ‘साथीहरु जस्तै म पनि बोर्डिङ पढ्छु भनेको थियो तर नसक्ने भएपछि मैले नै सम्झाइ बुझाइ गरेर स्कूल पठाएँ’ बासमतीले भन्नुभयो ।
वैदेशिक रोजगार छात्रवृत्तिको आशा
अम्बरबहादुको परिवारलाई विदेशमा ज्यान गए उनीहरुका परिवारले क्षतिपूर्ति पाउँछन् भन्ने थाहा छैन । त्यति मात्रै होइन विदेश गएकाहरुको ज्यान गए उनीहरुका छोराछोरीले छात्रवृत्ति पनि पाउँछन तर अम्बरबहादुरका परिवारलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले दिने यो छात्रवृत्तिका विषयमा पनि जानकारी छैन । त्यति मात्रै होइन छात्रवृत्तिका लागि चाहिने कागजपत्र पनि छैनन उहाँसँग ।
बासमतीसँग भएको भनेको छोरोको मृत्युदर्ताको प्रमाणपत्र र नागरिकताको फोटोकपी मात्रै हो । भन्नुहुन्छ ‘अरु सबै कागज काठमाडौंमै छ ।’ तर काठमाडौंमा कहाँ कोसँग छ भन्ने केही थाहा छैन । त्यसैले अम्बरबहादुरका तीन जना छोराछोरी अहिले छात्रवृत्ति पाउने आशामा छन् । छोरी साबित्री भन्नुहुन्छ ‘कसैले सहयोग गरेर छात्रवृत्ति दिलाइदिए हामीले पढाइ छोड्नुपर्ने थिएन ।’
अम्बरबहादुको परिवारलाई विदेशबाट पाउने क्षतिपूर्ति र उहाँका छोराछोरीलाई छात्रवृत्ति दिलाउन नवलपरासीको कावासोतीमा रहेको सूचना तथा परामर्श केन्द्रले पहल गरिरहेको जनाएको छ । कागजपत्र पूरा नभएकाले नयाँ बेलहानी गाविसबाट सिफारिस बनाएर भए पनि दिलाउन पहल भइरहेको रिटर्नी भोलेन्टियर कल्पना श्रेष्ठ क्षेत्रीले जानकारी दिनुभयो ।
साभार : उज्यालो अनलाईन
