राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्ड आज (मंगलबार) देखि दैनिक ६ घण्टा बन्द गरिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले सुचना जारी गरेर सडक बन्द हुने समय बढेको जानाकारी दिएको हो । सूचनाअनुसार आजबाट सो सडक खण्डमा बिहान १० बजेदेखि दिउंसो चार बजेसम्म गाडी चल्न रोक लाग्ने छ ।

सो सडक खण्डलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सञ्चालन भइरहेको छ । यसअघि पनि दैनिक साढे चार घण्टा सडक पुर्ण रुपमा बन्द हुने गरेको थियो ।’आजदेखि अर्को सूचना नआउंदासम्म सडक ६ घण्टा बन्द हुनेछ,’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले नारायणी अनलाइनलाई भने । सडक विस्तारको काम चली रहेका कारण गाडी बन्द गरेर निर्माण कार्यलाई तिब्रता दिनुपरेको आयोजना कार्यालयले जनाएको छ ।


’सो समयमा वैकल्पिक सडकबाट जानसक्ने गाडीहरुलाई उतैबाट जान हामी अनुरोध गर्दछौं,’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने । काम हुंदै गरेका कारण बन्दका बेलामा साना गाडीहरुसमेत छिर्न गाह्रो हुने अवस्था छ । एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका गाडीहरु विशेष व्यवसस्था गरेर पार लगाउने गरेको आयोजनाले जनाएको छ ।

वैकल्पिक मार्गमा काठमाडौंबाट पूर्व जान आउनका लागि बनेपा बर्दिवासको बीपी राजमार्ग, हेटौंडा नौं बिसेको त्रिभुवन राजपथ छन् । तर यी मार्ग ठूला र मालबाहक गाडीका लागि उपयुक्त छैनन् । त्यस्तै पश्चिम जान आउनका लागि मुग्लिनबाट पोखरा हुंदै सिद्धार्थ राजमार्गबाट स्याङ्जा बुटवल निस्कन सकिन्छ । तर यो बाटो पनि खासै राम्रो छैन र दूरी पनि लामो छ ।

यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको हो । सो बेला भएको सम्झौताअनुसार निर्माणको काम दुई वर्षपछि अर्थात् यसै महिना पूरा हुनु पर्ने थियो । तर अहिलेसम्म जम्मा ४१ प्रतिशतमात्रै काम भएको आयोजना प्रमुख यादवले बताए ।

नारायणगढमुग्लिन सडक ३६ किलो मिटर लामो छ । त्यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ । नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अरब रुपैयाँ ऋण सहयोगमा विस्तारको काम हुंदै गरेको हो । पहिला एक घण्टामा पार हुने सो सडक अहिले कम्तीमा तीन घण्टा लाग्ने गरेको छ ।
 
Top