वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर संचालनका लागि लाइसेन्स खोलेको छ। सुर्यमान गुरुङले श्रम तथा रोजगार मन्त्री सम्हालेको ६ महिनापछि विभागले नयाँ लाइसेन्स खालेको हो।  नयाँ म्यानपावर खोल्न सरकारले ४ वर्षभन्दा बढी समयदेखि रोक लगाएको थियो। अहिलेसम्म विभागबाट २४ वटा नयाँ म्यानपावर खोल्न व्यवसायीहरुले लाइसेन्स लिइसकेका छन्।

७ सय ५६ वटा म्यानपावरले यसअघि अनुमति पाएका थिए भने नयाँ लाइसेन्स लिएपछि म्यानपावरहरुको संख्या ७ सय ८० पुगेको छ।  वैदेशिक रोजगार संघमा भने ७ सय ८० ले मात्र दर्ता गरेका छन्। नयाँ म्यानपावर खोल्न चाहनेहरुले  २३ लाख बैंक ग्यारेन्टी, ७ लाख नगद धरौटी बुझाउनुपर्छ।

नयाँ म्यानपावर खोल्नका लागि निवेदन दिएको २० देखि १ महिनाभित्र विभागले लाइसेन्स दिन्छ। तर विभागका कर्मचारी र केही एजेन्टहरुलाई थप १० लाख घुस दिए लाइसेन्स उनीहरुले व्यवसायीको हातमा पुर्‍याइदिने गरेको व्यवसायीहरुले बताएका छन्।

नयाँ लाइसेन्स लिनका लागि १० लाख जोहो गरे तुरुन्तै पाइने व्यवसायीहरुले बताए। केही महिनाअघि नयाँ लाइसेन्स दिनका लागि घुस लिदैँ गर्दा विभागका शाखा अधिकृत रमेश लामिछाने १० लाख घुससहित पक्राउ परेका थिए।

'अहिले पनि १० लाख घुस दिए तुरुन्तै लाइसेन्स पाइन्छ,' एक व्यवसायीले भने 'लामिछाने पक्राउ परेपनि त्यो काम रोकिएको छैन।'

त्यस्तै विभागबाट केही व्यक्तिले आफ्नो र आफन्तहरुको नामबाट विभागमा सेटिङ मिलाइ १५ वटा भन्दा बढी लाइसेन्स लिएको खुल्न आएको छ। त्यसरी लाइसेन्स लिएपछि ती एजेन्टले ५० देखि ५५ लाखसम्ममा अरुलाई बेच्ने गरेका छन्।

यसरी एउटै व्यक्तिले आफ्ना र आफन्तको नामबाट लाइसेन्स बेच्दै आएपछि बिकृति बढेको नेपाल वैदेशिक रोजगार संघले जनाएको छ। त्यस्तै सरकारले नयाँ लाइसेन्स दिन थालेपछि संघले भने असन्तुष्टि जनाएका छन्। संघले लाइसेन्स दिने काम तत्काल रोक्न श्रम मन्त्रीको ध्यानाकर्षणसमेत गराइसकेका छन्।

'अहिले भएका म्यानपावर डिमान्ड नपाएर बन्द हुने अवस्थामा छन्,' संघका महासचिव रोहन गुरुङले भने, 'हचुवाको भरमा लाइसेन्स खोल्दा म्यानपावर व्यवसायबाट पलायन हुने अवस्था आयो।'

'लाइसेन्स खोल्नुपर्छ,' उनले भने, 'तर नयाँ गन्तब्यबाट डिमान्ड ल्याउनका लागि भनेर तोकिदिएको भए, हाम्रो असन्तुष्टि हुदैँन्थ्यो, ।'
 
Top