काठमाडौं : वैदेशिक रोजगार लगायत विभिन्न सिलसिलामा विदेश पुगेका मध्ये दुई सय ३१ जना जेलमा रहेको तथ्य सम्बन्धित निकायले प्रधानमन्त्रीलाई पेश गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारी र विदेशमा अलपत्र नेपाली समस्याबारे सरोकारवालासँगको परामर्शका क्रममा उक्त तथ्य प्रधानमन्त्रीसामु पेश गरिएको हो।
अर्थ, परराष्ट्र तथा श्रम मन्त्री र सचिवसँगको छलफलमा कुवेत, साउदी अरब, मलेसिया, कतार, युएई, ओमान, दक्षिण कोरिया, बहराइन, इजरायल लगायतका देशका विभिन्न जेलमा दुई सय ३१ जनाभन्दा बढी नेपाली कामदार रहेको बताइएको हो। यस्तै, ३३ जना नेपाली कामदारलाई मृत्युदण्डको फैसला सुनाइएको, २२ जना नेपाली कामदारलाई जन्मकैदको फैसला सुनाइएको तथ्याङ्क पनि प्रधानमन्त्रीलाई दिइएको छ।
कानुनी प्रक्रियामार्फत उद्धार गर्न सकिने नेपाली कामदारका लागि २५ करोडभन्दा बढी ब्लडमनीको व्यवस्था गर्नुपर्ने पनि सम्वन्धित अधिकारीले प्रधानमन्त्रीलाई जानकारी दिए।
छलफलमा प्रधानमन्त्रीसहित अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी, परराष्ट्र सचिव शंकरदास वैरागी, अर्थसचिव शान्तराज सुवेदी, श्रमसचिव लक्ष्मण मैनाली, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारी लगायत उपस्थित थिए।
