सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गरेसँगै टोलटोलमा बहस हुन थालेको छ ।स्थानीय निकाय पुनःसंरचना भए अनुसार चितवनमा भरतपुर महानगरपालिकासहित पाँच वटा अन्य नगरपालिकामा चुनाव हुनेछ । त्यस्तै एउटा गाउँपालिका रहेको छ ।


स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दलका करिब ३६ हजार नेता तथा कार्यकर्ताको एकैपटक व्यवस्थापन हुनेछ । वैशाख ३१ गते स्थानीय तहको चुनाव हुनेबित्तिकै विगत १९ वर्षदेखि मह¤वपूर्ण जिम्मेवारी नपाएका करिब ३६ हजार नेता कार्यकर्ताको एकैपटक व्यवस्थापन हुन लागेको हो ।

ईच्छाकामना गाउँपालिकामा ७ वटा वडामा चुनाव हुनेछ । यस गाउँपालिकामा दारेचोक, चण्डिभञ्ज्याङ, दाहाखानी र काउले गाविस रहेका छन् । पहाडका चार गाविस मिलाएर ईच्छाकामना गाउँपालिका बनाइएको हो । यसको केन्द्र चण्डिभञ्ज्याङ गाविस कार्यालय तोकिएको छ । त्यस्तै खैरहनी, माडी, रत्ननगर, राप्ती, कालिका नगरपालिकामा मेयर, उपमेयर तथा वडा स्तरमा वडाध्यक्षलगायतका पदमा चुनाव हुनेछ । खैरहनी नगरपालिकामा १३ वडा, कालिका नगरपालिकामा ११ वडा, माडी नगरपालिकामा ९ वटा वडा, रत्ननगरमा १६ वडा र राप्ती नगरपालिकामा १३ वटा वडामा स्थानीय स्तरको चुनाव हुनेछ । कालिका नपामा सिद्धि गाविस मिसिएको छ । राप्ती नपामा कोराक र लोथर गाविस गाभिएका छन् ।

भरतपुर महानगरपालिकामा मात्रै मेयर उपमेयरसहित २९ वडामा वडाध्यक्ष र अन्य पदका लागि चुनाव हुनेछ । भरतपुर महानगरपालिका १९ वर्ष अघि नगरपालिकाको हैसियतमा चुनाव भएको थियो । अन्य क्षेत्रको भन्दा भरतपुर महानगरपालिकाको चुनावलाई विशेष रुपले लिइएको छ । महानगरपालिकामा मात्रै दुई लाख ८० हजार जनसंख्या रहेको छ । महानगरपालिकामा साविकको चित्रवन र नारायणी नपासहित कविलास गाविस मिसिएको छ ।

स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनले वडा अध्यक्षसहित चार जना सदस्य चयन गर्ने पुरानै नियमलाई निरन्तरता दिएको छ । जसअनुसार एउटा वडामा एक वडा अध्यक्ष, दुई महिला र दुई अन्य सदस्य चयन हुनेछन् ।

दलका स्थानीय तहका सक्रिय नेता तथा कार्यकर्ता व्यवस्थापन हुन नसक्दा तिनीहरू विद्यालय व्यवस्थापन, खानेपानी, सामुदायिक वन, उपभोक्ता समितिजस्ता सामाजिक संघसंस्थामा आवद्ध हुँदै आएका छन् । बालानन्द पौडेलले बुझाएको स्थानीय तहको पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार २४२ नगरपालिका, १२ उपमहानगरपालिका र चार महानगरपालिकासहित ४६१ गाउँपालिकामा ३५ हजार ६४६ जना स्थानीय तहका नेताकार्यकर्ताको व्यवस्थापन एकैपटक हुनेछ । त्यस्तै पाँच हजार ६४८ दलित वा अल्पसंख्यक समुदायका महिला स्थानीय तहको नेतृत्वमा निर्वाचित भएर मूलधारको राजनीतिमा आउनेछन् ।

प्रतिवेदनअनुसार २५८ जना विभिन्न दलका स्थानीय तहको नेताकार्यकर्ता नगरपालिकाको मेयर भएर आउनेछन् भने सोही संख्या बराबरमा उपमेयर भएर नयाँ जिम्मेवारीमा जानेछन् । त्यसैगरी ४६१ गाउँपालिकामा स्थानीय तहका नेताकार्यकर्ता अध्यक्ष र सोही बराबरको संख्यामा उपाध्यक्ष हुनेछन् । नगरपालिका र गाउँपालिका दुवैमा क्रमशः मेयर, उपमेयर र अध्यक्ष र उपाध्यक्षका रूपमा एक हजार ४३८ जना स्थानीय तहका नेताकार्यकर्ताको व्यवस्थापन हुनेछ ।चितवनपोष्ट दैनिकवाट
 
Top