निर्माणाधीन नारायणगढ–मुग्लिन सडकको सम्झना गर्दा धूलो, खाल्टो, ढिलासुस्ती र जामको सम्झना भइहाल्छ । तर, केही खुसीको खबर पनि आउन थालेको छ । आँपटारी खण्डमा यसै हप्ताबाट कालोपत्रे सुरू गर्ने तयारी अगाडि बढेको छ ।

‘तीन दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा १० दिनभित्र कालोपत्रेको काम आँपटारीबाट सुरू गर्ने निर्णय भएको हो । जसअनुसार तयारीको काम अगाडि बढेको छ । अब कालोपत्रे सुरू गर्न समस्या छैन’ नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर शिव खनालले भने ।


३६ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडकखण्डको आँपटारीदेखि मुग्लिनसम्मको ३३ किलोमिटर दूरीमा विस्तारको काम भइरहेको छ । सो सडकलाई तीनखण्ड बनाएर छुट्टाछुट्टै निर्माण कम्पनीलाई कामको जिम्मा लगाइएको छ । अहिलेसम्म आँपटारी–दासढुंगा खण्डमा लक्ष्यका हिसाबले काम सबैभन्दा थोरै भएको देखिन्छ । तर, सोही खण्डमा कालोपत्रेको काम सुरू हुन लागेको हो ।

‘अहिलेसम्म आँपटारी–दासढुंगा खण्डमा ३५ प्रतिशतको हाराहारीमा काम भएको छ । तर, अब कालोपत्रे सुरू भएपछि प्रगतिको मात्रा बढ्ने छ’ सूचना अधिकारी खनालले भने । आँपटारी–दासढुंगाको दूरी साढे १० किलोमिटर हाराहारीमा छ । सो आर्थिक वर्ष नौ किलोमिटर अर्थात् जुगेडीसम्म सडक कालोपत्रे हुने खनालले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरुप दुई लेनको बनाउन विश्व बैंकको आर्थिक सहयोगमा विस्तारको काम सुरू भएको हो । दुई वर्षअघि सम्झौता भएअनुसार निर्माणको काम लगभग यही हप्ता पूरा हुनुपर्ने थियोे । तर, ढिलासुस्तीका कारण आधाभन्दा पनि कम काम पूरा भएको छ । निर्माण अवधि लम्बिएको छ ।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार समग्रमा ४१ प्रतिशतमात्रै काम पूरा भएको छ । तीन खण्डमध्ये सबैभन्दा धेरै काम मध्यखण्ड अर्थात् दासढुंगा सिमलताल खण्डमा ५० प्रतिशतभन्दा बढी काम भएको छ । त्यस्तै, सिमलतालदेखि मुग्लिनसम्मको खण्डमा ३८ प्रतिशतको हाराहारीमा काम भएको आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिए ।

दुई वर्षभित्र विस्तारको काम सकिने गरेर सन् २०१५ को अप्रिलमा निर्माण कम्पनीहरुसँग सम्झौता भएको थियो । जुन अवधि सकिन अब केही दिनमात्रै बाँकी छ । तर, काममा सुस्त प्रगति भएको अवस्थालाई ख्यालमा राखेर निर्माण सम्पन्न हुने अवधि आँउदो डिसेम्बरसम्मलाई थप भएको छ । दुई वर्षमा ५० प्रतिशत काम हुन गाह्रो भएको अवस्थामा आठ महिनामा बाँकी काम पूरा हुन कठिन छ ।

तर सूचना अधिकारी खनाल अब काम ह्वात्तै बढ्ने आशा व्यक्त गर्दछन् । कामलाई तीव्रता दिन भन्दै आउँदो मंगलबार चैत्र १५ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्ड बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म अर्थात् छ घण्टा पूर्णरुपमा बन्द हुने भएको छ । अहिले सो सडक साढे चार घण्टा बन्द हुने गरेको छ । तै पनि तोकिएकै समयमा काम पूरा हुनेमा धेरै आशंकाहरु कायमै छ ।चितवनपोष्ट दैनिकवाट
 
Top