भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले ‘बदमास’ मनोवृत्ति भएका कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । भरतपुर विमानस्थलमा मिडिया नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रालयका कर्मचारीलाई इमान्दार बनाउन लागिपरेको बताए ।
“मन्त्रालयमातहतका करिब ८० जना कर्मचारीलाई कारबाही गर्दैछौँ”, उनले भने, “जनशक्ति अभाव छ । तर, राजस्व छली गर्ने बदमास कर्मचारीलाई कारबाही गरिछाड्छौँ ।” मालपोत तथा नापी कार्यालयहरुमा देशभर ६ सय जना कर्मचारी आवश्यक रहेको बताए । “विस्तारित कार्यालयमा कर्मचारी व्यवस्थापन नहुँदा कार्यसम्पादनमा समस्या आएको छ”, उनले भने, “सेवाग्राहीलाई सहज रुपमा सेवा दिन मन्त्रालय प्रतिवबद्ध छ ।”
उनले बाँदरझुलाका सुकुम्बासीलाई स्थानान्तरणको प्रक्रियामा ढिलाई भएको स्वीकार गरे । “काम तुरुन्तै अघि बढ्ने वाला थियो, निर्वाचन आचारसंहिताले ढिलाई भएको छ”, मन्त्री पाण्डेले भने, “सबै निर्णय भैसकेको छ, ठाउँ पनि खोजिसकेका थियौँ, अब चाँडै हुन्छ ।” आफ्नै कार्याकालयमा देशभरका सुकुम्बासीलाई लालपुर्जा दिने गरि अघि बढेको उनको जीकिर थियो । राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले गणतन्त्रभित्र राजसंस्था समावेश गर्ने एजेण्डामा आफूहरु दुढ रहेको बताए ।
“हाम्रो देशको परिस्थिति अन्य देश भन्दा फरक छ”, उनले भने, “गणतन्त्रभित्रै राजालाई समावेश गर्न सकिन्छ, राजतन्त्र फर्किने भन्ने सवाल बेग्लै हो ।” उनले धर्मसंस्कृति परम्परा र मुलुको जटिल अवस्थामा राजसंस्थाको भूमिका महत्वपूर्ण हुने तर्क गरे । “कपडा सिलाउँदा आफ्नो शरिर हेरेर सिलाउनुपर्छ, तवमात्र फिट हुन्छ”, उनले भने, “अरुको शरीरमा फिट भएको कपडा छानेर हुँदैन ।”
साभार : खबर चितवन
