भरतपुर,९ चैत । नेपाल टेलिकम भरतपुर शाखालो उच्च क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवा सुरु गरेको छ । भरतपुर र नारायणगढ क्षेत्रलाई लक्षित गरी सुरु गरिएको सेवालाई थप व्यवस्थित गर्ने काम भइरहेको छ । एफटीटीएच सेवा नेपालमा हालसम्म उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा हो । विगतमा नारायणगढका ५ क्षेत्रबाट मात्रै यो सेवा लिने अवस्था थियो । अहिले २१ स्थानबाट यो सेवा लिन मिल्ने गरी भरतपुर र नारायणगढ क्षेत्रमा सेवा विस्तार सुरु भएको छ । एफटीटीएस सेवाको नेटवर्क विस्तार गर्ने काम विगत ४ दिनदेखि धमाधम भइरहेको छ ।
“अप्टिकल फाइबर तानेर घरसम्मै इन्टरनेट सेवा दिइने छ”, नेपाल टेलिकम भरतपुरका प्रमुख हरि ढकालले भने, “यो सेवा अनलिमिटेड र भोल्युम बेस्ड प्याकेजमा आधारित छ ।” यो वर्ष नारायणगढ क्षेत्र पूरै कभरेज गर्ने लक्ष्य लिइएको उनले बताए । “झण्डै एक वर्षको अवधिमा यो सेवा लिने ४१ जना मात्रै ग्राहक छन्”, उनले भने, “नेटवर्क विस्तार भएसँगै ग्राहक संख्या पनि बढ्नेछन् ।” यो इन्टरनेट सेवा एकदेखि १ सय एमबिपिएस गतिमा उपलब्ध हुनेछ । हाल यो सेवा लिने मध्ये धेरै एक देखि १० एमबिपिएसको गतिको इन्टरनेट सेवा लिने छन् । “गुणस्तरीय इन्टरनेट चलाउन यो सेवा ज्यादै प्रभावकारी छ”, उनले भने, “ ल्याण्डलाइन चाहिदैन, निवेदन दिएलगत्तै यो सेवा जडान हुनेछ, वार्षिक २१ हजार तिर्नुपर्नेछ ।
” एफटिटिएच मार्फत इन्टरनेट चलाउनको लागि आवश्यक सिपिइ (कस्टुमर प्रिमसेस इक्वीपमेन्ट) उपकरण समेत कार्यालयलेनै उपलब्ध गराउने बताए । यो सेवा लिँदा टेलिकमले एक ल्याण्डलाइन ग्राहकले चाहेमा निःशुल्क जडान गरिदिने छ । चितवनमा नेपाल टेलिकमले बीटीएस (मोबाइल) टावर राख्ने अभियान चलाएको छ । विटिएस टावर थप भएसँगै मोबाइल नेटवर्क तथा इन्टरनेटमा सुधार आएको छ । करिव तीन वर्षको अवधिमा मात्रै एक दर्जन टावर थप भएका छन् । यो वर्ष ८ क्षेत्रमा नयाँ मोबाइल टावर थप हुँदैछन् । “सहज रुपमा फोनमा कुरा गर्न मिल्ने गरि नेटवर्क विस्तारमा लागेका छौँ”, नेपाल टेलिकम भरतपुर शाखाका ईन्जिनियर दिवाकर अधिकारीले भने, “मोबाइल नेटवर्क पहिला भन्दा धेरै सुधार हुनेछ ।
साभार : खबर चितवन
