भरतपुर,२१ फागुन।
चितवन जिल्लामा सर्वाधिक तरकारी उत्पादन हुने क्षेत्रको रुपमा चिनिने चित्रवन र नारायणी नगरपालीकामा उचित भाउ नपाँउदा किसानहरु बढी मारमा परेका छन् । विगतको समयको मुनाफा खासै नभएपनि लागतसम्म उठ्ने भएको भएता पनि अहिले भने लागत मूल्य समेत नउठ्ने गरि भाउ घटेपछि यहाँका किसान बारीमै तरकारी जोत्न बाध्य छन् ।
यता जिल्ला कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत धनबहादुर थापा चितवन तरकारीमा आत्मनिर्भर हुनाले नै भाउमा गिरावट आएको बताउँछन् । अहिले तरकारी खेतीका लागि उपयुक्त समय भएकाले पनि धेरै कृषकले तरकारी खेती गर्दा भाउ नपाएको थापाको तर्क छ । अहिले बजारबाट उपभोक्ताले ब्रोकाउली, काउली, टमाटरलगायतका तरकारी ३० देखि ४० सम्म किन्नुपर्ने अवस्था छ ।
तर उब्जनी गर्ने किसानले बेच्दा ५ रुपैयाँदेखि १० रुपैयाँसम्म पर्ने भएपछि लागत मूल्यसमेत नउठ्दा वारीमै जोताएर नष्ट गराएका छन् । तरकारी व्यवसायी दीपक अर्याल पनि तरकारीको माग भन्दा बढी उब्जनी हुँदा भाउ घटेको बताउँछन् । भारतबाट तरकारी भित्रने क्रम कमी आएपनि अहिले भने उत्पादनमा वृद्धि भएकैले किसानले तरकारीको उचित मूल्य नपाएको अर्यालको भनाइ छ ।
खेती गर्ने समयमा तरकारीको बिउ, मल, कामदारको लागतलगायत चर्को मूल्य हाल्नुपर्ने तर उब्जनी भएर बिक्री गर्ने समयमा भाउ नहुँदा आफूहरु बढी मारमा परेको कृषकहरुको गुनासो छ । उत्पादनको बजारीकरण प्रवद्र्धनमा जोड दिएमा समस्या नहुने स्थानीयले बताएका छन् ।

साभार : खबर चितवन 
 
Top