भरतपुर । भरतपुर–टाँडी आवतजावत गर्दा बीचमा पर्ने टिकौली जंगलमा गाडी रोकेर लामो समय बस्ने, मन लागे अनुसार तीव्र गतीमा चलाउने र जम्मा भएको फोहर फ्याक्ने बानी थियो भने होसियार, अब यसो गर्दा कारबाही भोग्नुपर्ने हुन्छ । लामो जंगल क्षेत्रमा कसले देख्ला भन्ने भ्रम पनि नराख्नूस् । अब सबै गाडीको निगरानी सीसी क्यामेराले गर्न थालेको छ ।
सीसी क्यामेरा राखेको हेक्का सबैलाई नहुन सक्छ । त्यसका बारेमा पनि सम्बन्धित निकायले चेतनामूलक अभियान सुरू गरेको छ । निकुञ्ज र वन कार्यालयका अधिकारीहरु अहिले गाडी रोक्दै पर्चा दिँदै चालकलाई सम्झाउने अभियानमा लागेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वत श्रृखलासँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो बरण्डाभार जंगल । यस जंगलको टिकौली हुँदै पूर्वपश्चिम राजमार्ग गएको छ । दिनमा हजारौं गाडी ओहरदोहोर हुन थालेपछि चितवन निकुञ्ज, जिल्ला वन कार्यालयलगायतका संरक्षण सम्बन्धि निकायले चालकका लागि संरक्षण शिक्षा कार्यक्रम सुरू गरेका हुन्् ।
साउन ९ गते आइतबारदेखि पूर्वपश्चिम राजमार्गको टिकौलीमा छुट्टै खालको अभियान देख्न पाइन्छ । बिहानै राजमार्गमा भेला हुने निकुञ्ज र जिल्ला वनका अधिकारी तथा मध्यवर्ती उपभोक्ता समितिका पदाधीकारीहरु गाडी रोक्दै चालकसँग भलाकुसारी गरिरहेका हुन्छन् । कुराकानीको विषय हुन्छ, वन्यजन्तु संरक्षण र बरण्डाभार जैविकमार्गको महत्व । यो अभियान एक हप्ता चल्नेछ ।
‘यो जंगलको बीचबाट बाटो गएको छ । गाडी चलाउँदा निकै संवेदनशील क्षेत्रमा छु भन्ने हेक्का राख्नुहोस् । दुर्लभ वन्यजन्तु ओहरदोहर गर्छन् । त्यसैले बढी गतीमा गाडी हाँक्दा दुर्घटना हुन सक्छ । जंगलमा रोकेर बस्दा जनावरले हान्न सक्छ । फोहर नफाल्नु होला’ बुधबार बिहान चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल टिकौली गोन्द्राङमा चालकसँग यसो भन्दै थिए ।
अधिकारीले गाडी रोकेर बढीमा एक मिनेट चालक र यात्रुलाई बरण्डाभार जंगलको जैविक महत्व र त्यहाँ अपनाउनुपर्ने सावधानीका बारेमा सम्झाउने गरेका छन् । चालकको हातमा सानो पर्चा पनि थमाउने गर्दछन् । पर्चामा जंगलमा गाडी नरोक्नु होला, गाडीको रफ्तार प्रतिघण्टा ४० किलोमिटरभन्दा नबढाउनु होला र वन्यजन्तु हिँड्ने गर्छन् यो कुरा सधै ख्याल राख्नु होला भन्ने लेखिएको हुन्छ ।
‘यी कुरा पालना गरे नगरेको अब निगरानी राख्न सहज हुने भएको छ । किनकी लगभग चार किलोमिटर यो वन क्षेत्रमा हामीले असार ३० गतेदेखि १० वटा सीसीक्यामेरा राखेर नियमित निगरानी गर्न सुरू गरेका छौं । तपाइँ सीसीक्यामेराको निगरानीमा हुनु हुन्छ भन्ने कुरा चालकलाई जानकारी गराई रहेकाछौं’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले भने ।
बरण्डाभार जंगलमा दुर्लभ जंगली जनावर बाघ र एकसिंगे गैंडादेखि मृग प्रजातिका जनावरहरु ओहरदोहर गर्छन् । जंगली हात्तीसमेत बेलाबेलामा देखिने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । तर, सो जंगलमा जथाभावी गाडी रोक्ने, फोहर फाल्ने र जनावरहरु समेत किचेर मार्ने घटनाबढ्न थालेपछि सीसीक्यामेरा राख्ने र चालकलाई सजग गराउने अभियान सुरू गरेको कँडेलले जानकारी दिए ।
सो सडकपार गर्ने क्रममा अघिल्लो आर्थिक वर्षमा विभिन्न १५ जंगली जनावरलाई गाडीले किचेर मारेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । तर, दुईवटा, बस, दुईवटा ट्रक र एउटा कारलाई मात्र समाउन सकेको र कारबाहीको दायरामा ल्याएको उनको भनाइ छ ।
‘यहाँको जैविक महत्वका बारेमा चालकलाई बताएर कम रफ्तारमा गाडी चलाउन र जनावरको ख्याल राख्न भनेपछि एक त दुर्घटना नै नहोला न । यतिगर्दा पनि कसैले अटर गरेर तेज रफ्तारमा गाडी चलाउने, फोहर फाल्ने र जंगली जनावरहरुलाई कुल्चेर मार्नेसम्मका घटना गरे भने सीसीक्यामेराको सहायोगले समातिने भए’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले भने ।
सीसीक्यामेरा राख्नकालागि विश्ववन्यजन्तु कोष नेपालले आर्थिक सहयोग गरेको हो । कोषले सो कामकालागि १६ लाख रूपैयाँखर्च भएको जनाएको छ । सौर्य उर्जा राखेर सीसीक्यामेराको प्रणाली सञ्चालन गरिएको हुँदा भरपर्दो रहेको कँडेलले बताए ।
फोटो क्याप्सन :
चालकलाई शिक्षा : बरण्डाभार जंगलको महत्व र गाडी चलाउँदा अपनाउनुपर्ने विषेश सावधानीका बारेमा चालकहरुलाई भन्दै निकुञ्जका अधिकारीहरु ।
 
Top