दोहा- कतारको अल वकिरस्थित इजदान–३२ मा मंगलबार दिउँसो पुग्दा बाहिरी तापक्रम ५० डिग्री थियो । चर्को गर्मीकै कारण गाडीको एसीले काम गरिरहेको थिएन । इजदान कम्पनीले भिल्ला भाडामा लगाउने काम गर्छ । गेटमा आफ्नो आईडी राखेर भिल्ला नम्बर १२१ मा पुगें । त्यस भिल्लामा ‘कतारी साउदी कन्ट्रक्टिङ कम्पनी’ ले भाडामा लिएर कामदार राखेका थिए । इन्द्रपुर–१, नेपालगन्जका नयनसिंह रसाइली लिनका लागि गेटमा आइपुगेका थिए । भिल्लाको ढोका खोलेर मलाई भित्र लगेपछि बडो अनौठो दृश्य देखें ।
 यो एउटा समान्य भिल्ला थियो, जुन सानो परिवार बस्न मिल्ने गरी बनाइएको थियो । तर, यहाँ त भिल्लाको बैठक कक्षलाई नै कामदार बस्ने कोठा बनाइएको थियो । यो कोठामा मात्रै २० जना कामदार बस्दै आएका थिए ।
त्यो मध्यम आकारको कोठामा १० वटा डबलडेकर (दुई तले) खाट थिए । ढोका छेउकै बेडमा सन्तोष शर्मा तल र सक्कलकुमार मुखिया माथि सुतिरहेका थिए । जलन्धर खान र चन्द्रवीर यादव अर्को बेडमा थिए । सिरहाका सुबलाल मोची भर्‍याङमुनि थिए । सुत्दा माथि भर्‍याङमा ठोकिने डर थियो । त्यसैले उनी खुट्टालाई भर्‍याङबाट पसारेर बसिरहेका थिए । उनको खाटमाथि प्लास्टिक टाँसिएको थियो । ‘शौचालयको पानी चुहिन्छ, त्यसैले प्लास्टिकले छोपेको,’ सुबलालले सुनाए । पानी चुहिने भए पनि उनीहरू यहाँ सुतिरहेका छन् । ‘यहाँ नसुते अर्को ठाउँ छैन,’ उनले भने । दायाँ र बायाँ खाटको बीचमा हिँड्नका लागि सानो बाटो राखिएको छ । उनीहरूको खाना खाने ठाउँ पनि यही हो । ‘मेरो खाट जत्रो छ, यहाँ मेरो स्थान त्यति नै हो,’ चन्द्रवीरले भने, ‘मेरो लगेज, सरसामान, साबुनदेखि भाँडाबर्तनसमेत यही खाटको छेउमा राख्ने गरेको छु, अन्यत्र ठाउँ छैन ।’ कोठामा सास लिनै सकस लाग्यो । चल्न त दुइटा एसी चलिरहेका थिए । तर, पुग्दो हावा थिएन । कोठामा भएका कामदारमध्ये १२ जना नेपाली र ८ जना घानाका रहेछन् । ‘हामीलाई जनावरलाई जसरी राखिएको छ । धेरै पटक कम्पनीलाई राम्रो व्यवस्था गर भन्दा पनि सुनुवाइ हुन सकेको छैन,’ तनहुँ, डुम्रेका ३४ वर्षीय श्यामकृष्ण कुमालले भने, ‘मालिक हुन्न केही भन्दैन, काम गर्दा पनि गर्दैन, खालि पर्खिराख मात्र भन्छ ।’ कम्पनीका मालिक जोर्डनका नागरिक हसन अल निर्हात हुन् । मालिकले कामदारलाई कोठाभित्र हुलिदिएपछि त्यहाँ कसरी बसेका छन् भनेर कहिल्यै मतलव गरेको छैन । नेपालीकै बीचमा घानाका कामदार ल्याएर कोचिदिएपछि अवस्था झन् बिजोग भयो । चारवटा बेडमा ८ जना घानाका नागरिक छन् । ‘उनीहरू धेरै हल्ला गर्छन्, हामीलाई बस्न साह्रै गाह्रो छ,’ धनुषाका शिवकुमार ठाकुरले भने, ‘यहाँबाट कहिले बाहिर निस्कनु जस्तो उकुसमुकुस भएको छ ।’ दुई तले भिल्लामा ४२ जना बस्छन् । त्यसमा २८ नेपाली छन् । ४२ जनालाई पकाएर खानका लागि एउटा सानो भान्सा छ । दुईवटा मात्रै ग्यास चुलो छन् । ‘खाना पकाउन पालो कुर्नुपर्छ, कसले पहिला पकाउने भन्ने निहुँमा झगडा समेत हुन्छ,’ रसाइलीले सुनाए, ‘काम सकेर बेलुका ७स्३० बजे आइपुग्छौं, तर अन्तिम लाइन बस्नेको पालो आउँदा १२ बज्छ ।’ सबैको मेस अलग–अलग छ । कोही एक्लै पकाउँछन्, कोही दुई–चार जनाको समूहमा । ‘भात र तरकारीमात्रै पकाउन पनि आधा घण्टा लागिहाल्छ,’ उनले भने, ‘हामीलाई दिनभरिको काम भन्दा खाना पकाउने समस्याले बढी तनाव दिएको छ ।’ भिल्लामा दुइटा मात्रै शौचालय छन् । नुहाउनका लागि छुट्टै बाथरुम छैन । ‘बिहान ४स्३० बजे काममा जानका लागि तयार हुनुपर्छ, २ बजेदेखि नै शौचालय जानेको भीड हुन्छ,’ बुटवलका लक्ष्मण विकले भने, ‘नाम भिल्ला भनेर के गर्नु ? चार जना बस्ने भिल्लामा ४२ जना खाँदेर राखेको छ ।’ भिल्लामा बसिरहेकालाई बस्नेखानेको तनाबसँगै तलबको चिन्ता पनि थपिएको छ । तीन महिनादेखि तलब नपाएकाले अहिले उनीहरू कानुनी उपचारमा लागेका छन् । अघिल्लो बिहीबार (१४ जुलाई) बाट उनीहरूले काम गर्न छाडेका छन् । ‘एकातिर तलब पाइँदैन, अर्कोतिर बसाइको हालत नाजुक छ,’ कम्पनीका फोरम्यान रहेका रसाइलीले भने, ‘बेकार किन दुःख गर्नु ? यसरी बस्नुभन्दा स्वदेशमै जानु बेस ।’ सबै नेपालीलाई आईडी कार्डसमेत लगाइदिएको छैन । बिल्डिङ कन्ट्रक्सनको काममा आएका उनीहरुलाई आस्था म्यानपावरबाट पठाइएको हो । पीडित कामदारले न्यायका लागि बुधबार (२० जुलाई) मा कतारको राष्ट्रिय मानव अधिकार समितिमा उजुरी दर्ता गरेका छन् । ‘बाँकी तलब दिलाएर घर पठाइदेऊ भन्ने हाम्रो माग हो,’ श्यामकृष्ण भनिरहेका थिए ।

 यो सामग्री कान्तिपुरमा होम कार्कीले लेखेका हुन्
 
Top