भरतपुर । पूर्वीचितवनका विभिन्न खोला तथा नदी व्यवस्थापन र जीविकोपार्जन सुधारका लागि तोकिएको बजेट निकै कम खर्च भएको छ । चितवन जिल्ला विकास समितिले दिएको जानकारीअनुसार पूर्वीचितवन नदी व्यवस्थापन तथा जीविकोपार्जन कार्यक्रमका लागि कुल साढे २१ करोड रुपैयाँ बजेट थियो । जसमध्ये ९ करोड २० लाख रुपैयाँमात्रै खर्च भएको छ ।
‘खोला तथा नदी नियन्त्रणका लागि समयमै गिट्टी, ढुंगा नपाउँदा काम गर्न सकिएन भन्ने जवाफ आएको छ’ चितवन जिल्ला विकास समिति
(जिविस) का स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले भने । यो आयोजनाको ठूलो रकम खर्च नहुँदा जिविसको पँुजीगत खर्च नै कम देखिएको छ । गत आर्थिक वर्षका लागि जिविसको कुल पुँजीगत खर्च ३६ करोड ८२ लाख २७ हजार रुपैयाँ थियो ।
तर विनियोजित पुँजीगत खर्चमध्ये ५२ प्रतिशतमात्रै खर्च हुन सकेको चितवन जिविसले जानकारी दिएको छ । नदी व्यवस्थापन आयोजनाको दोस्रो चरणको कामका लागि विभिन्न ५७ वटा योजना सञ्चालन भएका थिए । जसमध्ये ३६ वटा आयोजना पूर्ण रुपमा सम्पन्न भएका छन् । पाँचवटा आयोजना सुरु नै भएका छैनन् ।
कुल योजनामध्ये ३७ वटा योजना पुनर्निर्माणसँग सम्बन्धित थिए । नयाँ योजना २० वटा थिए । पूर्वीचितवनको पिप्ले, भण्डारा, खैरहनी, वीरेन्द्रनगर, कठार, चैनपुर, रत्ननगर, जुटपानी, सिद्धि, शक्तिखोर र दाहखानीमा योजनाहरु सञ्चालित थिए । त्यस्तै, मकवानपुरको काँकडा गाविस वडा नं. १ रेवती खोलामा लगभग ५९ लाख रुपैयाँमा चेक ड्याम बनाउने योजना पनि यही बजेटमा थियो ।
कयर खोला, पम्पा खोला, ढुङ्ग्रे खोलामा ड्याम बनाउनुका साथै राप्तीको पुरानो तटबन्धको मर्मत सम्भारका लागि पनि बजेट विनियोजन भएको थियो । त्यस्तै, विभिन्न नहर तथा कुलोहरु निर्माण र मर्मतमा पनि बजेट छुट्याइएको जिविस कार्यालयले जानकारी दिएको छ । कुलो र नहरबाट कृषिमा टेवा पु¥याउने र कृषिमार्फत जीविकोपार्जनमा मद्दत गर्ने आयोजनाको उद्देश्य हो ।
पुँजीगत खर्च ५२ प्रतिशतको हाराहारीमा खर्च भए पनि चालु खर्च साव ९६ प्रतिशत खर्च भएको जिविस चितवनले जनाएको छ । चालु खर्च तलब लगायतको बजेट हो । चालु खर्चका लागि ४५ करोड ९५ लाख ७८ हजार सात सय चार रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये ४४ करोड २३ लाख १५ हजार ९ सय चार रुपैयाँ खर्च भएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका सबै योजनाहरु सम्पन्न भएको जिविसले जानकारी गराएको छ । सो कार्यक्रमअन्तर्गत १० करोड ७० लाख रुपैयाँ चितवन जिल्लामा आएको थियो । जसबाट कुल १८४ वटा योजना सञ्चालन भएका थिए । सबै १८४ योजना पूरा भए पनि बजेट भने खर्च नभएर जोगिएको छ । ३५ लाख ३० हजार ७३१ रुपैयाँ निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ बचत भएको जिविसले जानकारी दिएको छ ।

साभार : चितवन पोष्ट दैनिक
 
Top