
२ साउन,रत्ननगर।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । निजी विद्यालय सरह नतिजा ल्याउन थालेपछि पूर्वी चितवनको रत्ननगर–१४, पिठुवाको जनजागृति उच्च माविमा निजी विद्यालयहरुमा अध्ययन गर्दै आएका विद्यार्थीहरुको चाप बढ्दै गएको हो ।
अंग्रेजी माध्यमकै कारण सो विद्यालयमा प्रत्येक वर्ष निजी विद्यालयका विद्यार्थी थपिने गरेका छन् । जनजागृति उच्च माविले नजिता पनि त्यहीअनुसार हासिल गरेको छ । विद्यालयका प्राचार्य विनोद अधिकारीका अनुसार माथिल्ला कक्षाहरुमा निजीका धेरै विद्यार्थी आएका छन् । यो वर्ष कक्षा ६ मा १३ जना, ७ मा १० जना, कक्षा ८ मा ३५ जना र कक्षा ९ मा ३० जना निजी विद्यालयका विद्यार्थी भर्ना भएका प्राचार्य अधिकारीले बताए । सोही अनुपातमा तल्लो कक्षामा पनि निजीका विद्यार्थी आउने गरेका छन् । “अंग्रेजी माध्यमबाट पढाइ सुरु भएदेखि नै नाम चलेका निजी विद्यालयका विद्यार्थी आइरहेका छन्”, प्राचार्य अधिकारीले भने, “अभिभावकको माग अत्यधिक छ तर आर्थिक अवस्थाले हामीले थेग्ने अवस्था छैन ।”
सो विद्यालयमा गएको ५ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । जनजागृतिमा खैरहनीको डेजी आवासीय उच्च मावि, ग्लोसाईन एकेडेमी, सगरमाथा, भानु, अर्विडका विद्यार्थी अध्ययनका लागि आएका प्राचार्य अधिकारीले बताए । हरेक वर्ष एक सय ३० जनाको हाराहारीमा निजी विद्यालयका विद्यार्थी यहाँ पढ्न आउने गरेको विद्यालयको दावी छ । “अंग्रेजी माध्यमकै लागि निजी स्रोतबाट ७ जना राखिएको छ”, प्राचार्य अधिकारीले भने, “दरबन्दीमा रहेका शिक्षक÷शिक्षिका पनि अंग्रेजीमा पोख्त छन् ।”
सो विद्यालयमा २१ जना शिक्षकको दरबन्दी छ । करिब १ हजार विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमकै कारण गतवर्षको एसएलसी परीक्षामा विद्यालयबाट राम्रो नतिजा आएको प्राचार्य अधिकारीको दावी छ । उनका अनुसार पूर्वी चितवनमा ए प्लस ल्याउने सबैभन्दा बढी विद्यार्थी जनजागृतिकै छन् । गतवर्ष २२ जना विद्यार्थी ए प्लसमा उत्तीर्ण भएको र जीपीए ३.९ अंक ल्याउने ४ जना सोही विद्यालयकै रहेको उनले बताए ।
पूर्वी चितवनबाट ६ जनाले जीपीए ३.९ अंक ल्याएका थिए । ६ जनामध्ये बाँकी दुई जना एकता शिशु निकेतन र भानु ईङ्लीस स्कूलका थिए । अहिले करिब ५० जना कक्षा एघारमा भर्ना भएका छन् भने १ सय १३ जनाले कक्षा १२ को परीक्षा दिएका छन् । सो विद्यालयमा कम्प्युटर विज्ञानसहित व्यवस्थापन र शिक्षाशास्त्र संकाय पढाइ हुँदै आएको छ । जनजागृति उच्च मावि आसपास ४ वटा मावि र ४ वटा निमावि छन् ।
साभार : खबर चितवन
तस्विर : नेत्र गुरुङ