रियाद- रोजगारीका लागि आएका आप्रवासी कामदारको पासपोर्ट सम्वन्धित व्यक्तिको अनुमति विना रोजगारदाताले राख्न नपाउने साउदी अरेवियाको श्रम मन्त्रालयले स्पष्ट पारेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता अवु अल खाहिलले सम्वन्धित कामदारको अनुमति विना पासपोर्ट रोजगारदातालाई राख्ने अनुमति साउदीको कानूनले नदिएको बताएका हुन् । 
अरव न्यूजका अनुसार यदि कामदारले आफ्नो पासपोर्ट रोजगारदातासँग रहोस् भन्ने ईच्छा राखेमा पनि त्यसका लागि लिखित अनुमति रोजगारदाताले लिनुपर्ने अनिवार्य रहेको उनले प्रष्ट्याए । त्यस्तो सहमतिपत्र अरवि भाषा तथा सम्वन्धित कामदारको आफ्नो भाषामा हुनुपर्ने र त्यसमा यो विषय प्रष्ट रुपमा खुलाइएको हुनुपर्ने उनले बताए । तर खाडीका देशहरुमा कामदारको पासपोर्ट रोजगारदाताले नै राख्ने प्रचलन छ ।   
मन्त्रालयका प्रवक्ताले यसरी अनुमतिविना कुनै रोजगारदाताले पासपोर्ट राखेको भेटिएमा कानून अनुसार दण्डित गरिने बताए । उनले त्यस्तो भेटिएमा प्रति पासपोर्ट २ हजार साउदी रियाल जरिवाना हुने उनको भनाई थियो । यसमा घटनाको प्रकृति हेरेर थप जरिवाना हुन सक्ने उनको भनाई छ । श्रम कानून उल्लंघनका घटनामा कुनै क्षमा नगरिने मन्त्रालयले प्रष्ट पारेको छ । कसैको जवर्जस्ती पासपोर्ट राखिएको भएमा मन्त्रालयको वेभसाईट www.mosa.gov.sa मार्फत उजुरी दिन सकिने जनाइएको छ । 
मन्त्रालयले यति भनिरहँदा साउदी अरवमा बहुसंख्यक कामदारको पासपोर्ट रोजगारदाताले नै राख्ने गरेका छन् । 
 
Top