होमनाथ सापकोटा 
रत्ननगर । विष्णुमाया रिजाल २०६० सालमा तनहुँबाट पूर्वीचितवनको पिठुवा आइन् । विवाह भएपछि उनी श्रीमान् र परिवारका अन्य सदस्यसँगै चितवन आइन् । आर्थिक रुपले सामान्य विष्णुमायाको परिवारले आम्दानीको अन्य स्रोत नभएपछि अर्काको जग्गा भाडामा लिएर खेती गर्न सुरू गरे ।
२०६८ सालसम्म पिठुवामा खेती गरेरै गुजारा चलाए । यो बीचमा उनले दुई सन्तान जन्माइन् । मेलापाल, खेती गरेर दुःखसुख परिवार धान्दै आएको रिजाल परिवारमा दुई छोराको आगमनले असीमित खुसी भित्रियो । छोरा जन्मिएपछि उनीहरुले अहिलेसम्म गरेको सबै दुःख बिर्सिए ।
छोरा जन्मिएर आएको खुसी धेरै समय टिक्न सकेन । श्रीमान्को मती बिग्रियो । अनि विष्णुमायाले मनमा सँगालेको सबै सपना चकनाचुर भए । श्रीमान्ले कमाउलान्, छोराहरु हुर्किएपछि परिवार सम्पन्नशाली होला र सुखको जीवन बिताउला भन्ने विष्णुमायाको सपनामा तुषरापात भयो ।
२०६७ सालमा उनका श्रीमान् पुष्प शर्माले दोस्रो विवाह गरेर हिँडेपछि विष्णुमायाको दुःखका दिन सुरू भए । श्रीमान्ले अर्की टिपेर हिँडेपछि रथका दुई पाङग्रामध्ये एउटा पाङग्रा भाँच्चियो । तत्कालीन अवस्थामा उनले सोचिन् अब मेरो सबै सकियो ।
दुई छोरा काखमा लडीबुडी गरेर खेल्ने अवस्थामा श्रीमान्ले अर्की टिपेर हिँडेपछि उनलाई जीवन नै सकिए झै लाग्यो । तैपनि दुई छोराको मुख हेरेर चित्त बुझाइन् । श्रीमान्को साथ टुटेपछि उनी दुई छोरा बोकेर रत्ननगर–७ टिकौलीमा डेरामा बसेर सन्तानको भविष्यको लागि संघर्ष सुरू गरिन् । त्यो पनि एक्लै । २०६८ सालदेखि २०७१ सालसम्म उनले सन्तानको खुसीका लागि मजदुरी र बदाम बेचेर जीविका चलाइन् ।
‘उनले (श्रीमान्) हामीलाई छाडे भनेर मैले छोराहरुको भविष्य बर्बाद गर्न हुन्न भन्ने लाग्यो’, उनले भनिन्, ‘९÷९ महिना पेटमा राखेर जन्माएको सन्तानलाई छाड्न सकिनँ ।’ उनका जेठो छोरा बिपुल र कान्छो छोरो विपिन कपरखोरी माविमा पढ्छन् । जेठो छोरा कक्षा ७ र कान्छो ६ मा पढेका छन् । बिहानबेलुका छाक टार्न मुस्किल भएपछि जेठो छोरो बिपुलले पनि बदाम बेच्न सुरू गरे । बदाम बेच्न सुरू गरेपछि बिपुलको पढाइ नियमित हुन सकेन ।
‘जेठो छोरा अहिले ९ मा जानुपर्ने हो’, विष्णुमायाले भनिन्, ‘भाइलाई पढाउन दाइले पनि बदाम बेच्न बाध्य भयो ।’ मजदुरी र बदाम बेचेर जीवन सहज हुन नसकेपछि विष्णुमायाले २०७१ सालबाट टिकौलीमा व्यवसाय सुरू गरेकी छन् । टिकौलीमा रहेको बीसहजारी ताल जाने बाटोको गेटमुनि उनले घुम्ती पसल सञ्चालन गरेकी छिन् ।
सानो घुम्तीमा उनले फलफूल, तरकारी र किराना सामान राखेर व्यवसाय चलाएकी छन् । व्यवसाय सुरू गरेपछि उनको जीवन सहज भएको छ । विष्णुमायाको जेठो छोराले बदाम बेच्दै हिँडेको थाहा पाएपछि रत्ननगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत उनलाई व्यवसाय सञ्चालन र पढाइको लागि शैक्षिक सामग्री सहयोग भयो ।
बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको रत्ननगर उद्योग वाणिज्य संघ विष्णुमायालाई पसल सञ्चालनको लागि घुम्ती र किराना सामग्री सहयोग गरेको थियो । साइकलमा फलफूल र बदाम बेच्ने विष्णुमायाले अहिले दैनिक तीन हजार कमाउने गरेकी छन् । उनका दुई छोरा नियमित विद्यालय जान्छन् ।
छोराहरुले बदाम बेच्न छाडेर स्कुल जान थालेका छन् । व्यापार गरेर उनले जीवनलाई सहज त बनाइएकी छन् तर मनमा शान्ति छाउन सकेको छैन । अहिले पनि उनको ओत लाग्ने घर छैन । छोराहरुलाई उच्च शिक्षासम्म पढाएर सक्षम बनाउने र एउटा राम्रो घर बनाउने योजना उनले बुनेकी छन् ।
‘यसकै लागि एक्लै संघर्ष गरिरहेको छु’, विष्णुमायाले भनिन्, ‘कर्म गर्दै जान्छु भगवानले हेर्लान् ।’ श्रीमान्ले साथ छाडेपछि दुई छोराको भविष्यको लागि दिनरात नभनी काम गरिएको भन्दै उनले परिस्थिति श्रीमान् बिना पनि बाँच्न सिकाएको बताइन् । ‘अब मेरो एउटै उद्देश्य छ’, उनले भनिन्, ‘दुई छोरालाई शिक्षा दिएर भविष्यमा सक्षम व्यक्ति बनाउने ।’

साभार : चितवन पोष्ट दैनिक 
 
Top