जहाज अभावको कारण देखाउँदै चार वर्षअगाडि बन्द भएको नेपाल वायुसेवा निगमको दुबई उडान भदौ २ गतेदेखि पुनः प्रारम्भ हुने भएको छ। 
नेपाली यात्रुहरुको चाहना र माग अनुसार नै दुबईमा उडान भर्न सुरु गर्ने निष्कर्षमा पुगेको निगमका निर्देशक तथा प्रवक्ता रामहरि शर्माले बताए।  सन् १९८४ नोभेम्बरदेखि दुबई उडान थालेको निगमले जहाज अभाव भएको भन्दै सन् २०१२ अगस्टदेखि बन्द गरेको थियो।
‘नेपालीहरुको चाहना र माग अनुसार नै हामीले उडान पुनः सुरु गर्ने घोषणा गरेका हौँ’ शर्माले सेतोपाटीसँग भने, ‘घोषणापछि दुबईमा रहेका नेपाली र यहाँका युवाले उत्सुकता जनाएका छन्।’ सन् २०१५ मा दुई वटा विमान खरिद गरेको निगमले वाह्य देशमा उडान हुने जहाज र यात्रुको चापअनुसार गन्तव्य थप गर्ने रणनीति बनाएअनुरुप दुबईबाट उडान पुनः प्रारम्भ गर्न लागिएको शर्माले बताए। उनका अनुसार चीनको ग्वान्जाउ पनि पाइपलाइनमा रहेको छ।
आरामदायी र सस्तो भाडासँगै आफ्नै ध्वजावाहक विमानमा यात्रा गर्दा नेपाली यात्रुलाई पारिवारिक वातावरण मिल्ने शर्माले बताए।   ‘भाडा सस्तो हुनुका साथै, नेपाली एयरहोस्टेजले गर्ने व्यवहार र भाषाको समस्या पनि नहुने हुँदा यात्रु पूर्ण रुपमा सन्तुष्ट हुने गरेका छन्’ शर्माले भने।
निगमले सुरुआती एक महिनाको अवधिका लागि काठमाडौं–आवुदावी रुटमा प्रवद्र्धनात्मक भाडादर १७ हजार तोकेको छ भने राउन्ड ट्रिपको लागि २७ हजार तोकेको छ। चार घण्टाको हवाइ यात्रा हुने यो रुटमा दुबईबाट आउँदा भने सेप्टेम्बर महिनासम्मका लागि ११ हजार रुपैयाँ मात्र लाग्ने निगमले प्रष्ट पारेको छ। 
हाल फ्लाई दुबई, इतिहाद कतार एयरवेज लगायत एयरलाइन्सले यो रुटमा उडान भर्दै आएका छन्। यी एयरलाइन्सहरुको हालको औसत भाडादर ३५ हजारभन्दा माथि रहेको छ।  सेप्टेम्बरपछि पनि निगमको नियमित भाडादर अरुको भन्दा सस्तो हुने शर्माले जानकारी दिए। 
‘हामीले काठमाडौं–दुबई उडानको नियमित भाडादर २५ हजार र राउन्डट्रिपको ४२ हजार रुपैयाँ तोकेका छौं’ शर्माले भने, ‘यो भाडा अरुको भन्दा धेरै सस्तो पनि हो।’  वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरुको चौथो लोकप्रीय गन्तव्यको रुपमा दुबई चिनिन्छ, दुबई उडान पुनः आरम्भ हुने भएसँगै लाखौ नेपालीहरु यसबाट लाभान्वित हुने विश्वास छ। 
‘तुलनात्मक रुपमा सस्तो भाडामा आरामदायी सिट, फुल क्यारियर सेवा र लगेजमा अरुभन्दा राम्रो सुविधा दिएका छौँ’ शर्माले भने।  हाल निगमले भारतका दिल्ली, मुम्बई, बैंङ्लोर उडान भर्दै आएको छ। त्यस्तै मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङमा अन्तराष्ट्रिय उडान गर्दै आएको छ। 
निगमसँग अन्तराष्ट्रिय उडानको लागि चारवटा विमान रहेका छन् । दुई वटा बोइङ र दुईवटा एयरबस छन्। तर बोइङ ‘एसिए कलसाईन’को ‘कर्णाली’ जहाज सञ्चालन गर्न नसकिने भन्दै बिक्री गर्ने निष्कर्षमा पुगेको निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि तीनवटा जहाजमात्र रहने छन्। 

साभार : सेतोपाटी 

 
Top