तुलमान गुरुङ्ग
चितवन, असोज २३,
पश्चिम चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट आज एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दिव्यनगर–५ का ४१ वर्षिय शुकराम बोटे रहेको प्रहरीले जनाएको छ । हिजो साँझ करिब ७ बजेतिर नारायणी नदीमा माछा मार्न हिंडेका बोटे आज बिहान सम्म घरपरिवारको सम्पर्कमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
आज विहानैदेखि प्रहरी, नेपाली सेना, काला बञ्जार उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारी तथा स्थानीयबासीको टोलीले राष्ट्रिय निकुञ्जको दुई वटा हात्ती परिचालन गरि खोजी गर्दा दिउँसो नारायणी सामुदायिक वन अन्तर्गत स्वीटी घोलमा आधा शरीर बाघले खाएको अवस्थामा उनको शव भेटिएको चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
एक्लो घर भएकाले छिमेकीले आज बिहान मात्रै थाहा पाएको कालाबञ्जार उपभोक्ता समितिका सदस्य जितबहादुर तामाङ्गले बताउनुभयो । बोटेको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
