महोत्तरी असोज २८ - सोमबार बेलुकी काठमाडौंमा बसले पल्टिएर किच्दा एकै परिवारका २ छोराको ज्यान गएपछि महोत्तरी बर्दिबास ८ पोखरी टोल यतिबेला शोकमा डुबेको छ । स्थानीय सूर्यप्रसाद गौतमका जेठा छोरा ३० वर्षका तिलकप्रसाद गौतम र कान्छा छोरा २८ बर्षका रुद्रप्रसाद गौतमको सोमबार बेलुकी काठमाडौंको बबरमहलमा भएको दुर्घटनामा ज्यान गएको थियो । तिव्र गतिको बा १ ख ८६७६ नम्बरको बसले पल्टिएर गौतम दाजुभाइ चढेको मोटरसाईकललाई किच्दा दुवै जनाको घटनास्थालमा नै ज्यान गएको थियो । दुवै छोराको एउटै दुर्घटनामा ज्यान गएपछि गौतम परिवार मात्र होइन छरछिमेकी पनि स्तव्ध छन् । गौतम दाजुभाइका साथी खुमराज शाहीले दाजुभाइ नै दुर्घटनामा बितेको समाचार सुनेपछि आफूलाई रातभरी निन्द्रा नलागेको बताउनुभयो । ‘साह्रै मिलनसार र सहयोगी थिए’ शाहीले सम्झनुभयो ‘आयू छोटो रहेछ ।’ सम्पत्तिको नाममा दुई कठ्ठा घडेरी र त्यसमा बनेको कच्ची घर मात्र भएका गौतम दाजुभाइले बैंकबाट ऋण लिएर एक बर्ष अघिदेखि काठमाडौंको महाबौद्धमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालन गर्दै आएका थिए । गौतम दाजुभाई बेलुकी पसल बन्द गरेर कोटेश्वरमा रहेको आफ्नो डेरातर्फ जाँदै गर्दा दुर्घटना भएको हो । बिबाहको एक वर्ष नपुग्ने पुछियो सिउँदो दुर्घटनामा ज्यान गुमाएका तिलकप्रसादको गएको मंसिरमा मात्र विवाह भएको थियो । उहाँकी श्रीमती निशा अहिले पाँच महिनाकी गर्भवती भएको तिलकप्रसादकी काकी पार्वतीले बताउनुभयो । निशाको गर्भमा रहेको बच्चा जन्मनु अघि नै टुहोरो भएको उहाँले बताउनुभयो । दसैँमा श्रीमतीसहित घर आएका तिलकप्रसाद दसैँ लगत्तै श्रीमतीलाई घरमै छाडेर व्यापार सम्हाल्न काठमाडौं जानुभएको थियो । दुई छोराको काठमाडौंमा मृत्यु भएको खबर पाएपछि रुद्रप्रसाद गौतम श्रीमती र बुहारीलाई साथ लिएर सोमबार राती नै काठमाडौं जानु भएको छ ।
 
Top