तिहारलगत्तै पारसलाई नेपाल ल्याउने तयारी
थाइल्यान्डमा गाँजा सेवनको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई तिहारलगत्तै काठमाडौं बोलाउने तयारी परिवारले गरेको छ। उनलाई धरौटीमा रिहा गराउने प्रयास भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
धीरेन्द्र शाहका छोरी सीताष्मा र बहिनी प्रेरणाले पारसलाई रिहा गराउन यसपटक चासो राखेका स्रोतको भनाई छ। स्रोतका अनुसार बाबु ज्ञानेन्द्र शाह र आमा कोमल पनि पारसको अवस्थामाबारे चिन्तित छन्। यसपटक रिहा भएमा जसरी भए पनि पारसलाई काठमाडौंमै बोलाउने तयारी शाही परिवारको रहेको स्रोतले दाबी गरेको छ।
चार वर्षको भिसाअवधि सकिएपछि गत २१ साउनमा तीन महिनाका लागि भिसा थप गरिएको थियो। अर्को पटक भिसाको म्याद नथपी नेपाल बोलाउनुपर्ने सल्लाह नातेदारहरूले परिवारलाई दिएको स्रोतले बतायो।