काठमाडौं : कात्तिकको पहिलो साता मलेसियामा सुरु हुने आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीनमा नेपालले पहिलो खेल युगान्डाविरुद्ध खेल्ने भएको छ। आईसीसीले मंगलबार जारी गरेको खेल तालिकाअनुसार कात्तिक ६ गते नेपाल र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ। नेपालले अन्य खेल कात्तिक ७ गते बर्मुडासँग, कात्तिक ९ गते सिंगापुरसँग, कात्तिक १० गते अमेरिकासँग र कात्तिक १२ गते मलेसियासँग खेल्नेछ।

राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन दुईमा प्रवेश गर्नेछन्। शीर्ष दुई टोलीले उपाधिका लागि कात्तिक १३ गते प्रतिस्पर्धा गर्नेछन्। डिभिजन दुई माघ ३ देखि १० गतेसम्म नामिबियामा सञ्चालन हुनेछ। ६ टोली रहने उक्त  प्रतियोगिताको शीर्ष दुई टोलीले चार दिवसीय आईसीसी इन्टर कन्टिनेन्टल कप र एक दिवसीय स्वरूपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्न पाउनेछन्।

डिभिजन दुईको शीर्ष दुईमा रहन सके चार वर्षका लागि एक दिवसीय मान्यता पाउने बाटो पनि खुल्नेछ। गतवर्ष आयोजना भएको एक दिवसीय विश्वकप २०१५ को विश्वस्तरको छनोटमा कमजोर प्रदर्शन गरेपछि नेपाल डिभिजन तीनमा घटुवा भएको थियो। त्यसअघि नेपालले बर्मुडामा युगान्डालाई फाइनलमा हराएर डिभिजन तीनको उपाधि जितेको थियो। साथै एक दिवसीय विश्वकपको विश्वस्तरको छनोटमा समेत प्रवेश पाएको थियो।

उक्त  छनोटमा शीर्ष चारमा नपरेपछि नेपाल एक दिवसीय मान्यता पाउनबाट समेत चुकेको थियो। एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउन सके उक्त टोलीले टीट्वेन्टी अन्तर्राष्ट्रियको समेत मान्यता पाउने गर्छ।

बंगलादेशमा भएको गत टीट्वेन्टी विश्वकपमा राम्रो प्रदर्शन गरेपछि आईसीसीले विशेष पुरस्कारस्वरूप नेपाललाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको छ।

आईसीसीले आफ्ना एसोसिएट तथा एफिलिएट सदस्यलाई एक दिवसीय मान्यता दिन, उच्च श्रेणीको प्रतियोगिताका लागि बाटो खोल्न छनोट प्रतियोगिताका रूपमा डिभिजन लिग क्रिकेट सञ्चालन गरेको छ। ६ टोली रहने उक्त प्रतियोगिताको अन्तिम दुई टोली एक डिभिजन घटुवा हुन्छन् भने शीर्ष दुई टोली एक डिभिजन बडुवा हुन्छन्। बीचका दुई टोली भने यथास्थानमा रहन्छन्।

नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले यतिबेला डिभिजन तीन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन्। मलेसियामा हुन लागेको डिभिजन तीन युगान्डामा गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो। तर युगान्डामा इबोला फाइरसको संक्रमण देखिएपछि आईसीसीले मलेसियामा प्रतियोगिता सारेको हो।

मलेसिया र सिंगापुर डिभिजन चारबाट बढुवा भएका हुन् भने युगान्डा र नेपाल विश्वस्तरको छनोटमा कमजोर प्रदर्शन गरेपछि घटुवा भएर डिभिजन तीनमा पुगेका हुन्। बर्मुडा र अमेरिका डिभिजन तीनमै रहेका थिए।

 
Top