खोलाले बगाएर चितवनमा थप एकको मृत्यु
चितवन, असोज २९,
चितवनको माडीमा खोलाले बगाउँदा थप एक जनाको ज्यान गएको छ । मंगलबार साँझ खोलाले बगाएर बेपत्ता भएका अयोध्यापुरी–६ इन्द्रबस्तीका ४८ वर्षिय मिनराज गिरीको शव आज विहान भेटिएको हो ।
परिवारले आज विहान मात्र गिरी बेपत्ता भएको प्रहरीलाई खबर गरेपछि उनको खोजी सुरु भएको थियो । प्रहरीले खोज्दै जाँदा अयोध्यापुरी–१ स्थित सोही खोला छेउमा गिरीको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । गिरीको शव अहिले पोष्टमार्टका लागि माडीकै अस्पतालमा राखिएको छ । गिरी निम्न वर्ग परिवारको रहेको प्रहरीले जनाएको छ । उनले अर्काको घरमा मजदुरी गर्दै परिवार पाल्ने गरेका थिए ।
माडीमा नै बघौडा–८ स्थित रतौली खोलाले बगाउँदा गयराती बघौडा–८ ब्रहम्पुरीका अन्दाजी ४०/४५ वर्षिय मनबहादुर बराईलीको ज्यान गएको थियो । बेपत्ता भएका मनबहादुरको शब राती करिव ३ सय मिटर तल खोला छेउमा भेटिएको माडी प्रहरीले जनाएको छ ।
यसैबीच सोमबारदेखि परेको लगतारको वर्षाले डुबानमा परेका माडीका केही गाउँहरुमा आजबाट भने अवस्था सामान्य बन्दै गइरहेको छ । विहानैबाट पानी पर्न छोडेपछि खोलामा पानीको सतह घट्दै गएको हो । बाढीले केही सडकहरु भत्किाएका छन् । बाढीका लागि गयराती नै उद्दार टोली माडी पुगेको थियो ।
