चितवन, असोज २३,
चितवनको भरतपुरस्थित आँपटारीमा प्रहरीमाथि
हातपात गर्ने पाँचजनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
आँपटारीमा गाडी जाँचका क्रममा प्रहरीमाथि नै हातपात गरेपछि पाँचजनालाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आज जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा काठमाडौँका पर्वत चापागाईं, सुरेश हुमागाईं र हेटौँडा नगरपालिकाका प्रवेश बजगाईं, प्रमोद बजगार्इं र रामेश्वर बजगार्इं रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाकारी दिएको छ । छतमा बसेर यात्रा गरिरहेको बेला आँपटारीमा चार जनालाई झारेपछि प्रहरीसँग उनीहरुको विवाद सुरु भएको थियो ।
प्रहरी जवान आशनारायण शाहले लाइसेन्स र बिलबुक देखाउन भनेपछि एक्कासि आक्रमण गरेको आँपटारी प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र आजै आवश्यक कानुनी कारबाही अगाडि बढाइने कोइरालाले बताउनुभयो । –रासस