काठमाडौँ : भारतको उडिसा राज्यमा असोज २९ गते हुन लागेको उपचुनाव उम्मेदवार नेपाली नागरिक भएको भन्दै विवादमा परेको छ।

कन्धमल लोकसभाको सिटका लागि हुन लागेको यो चुनावमा विपक्षी दलले यही विषयलाई मुद्दा बनाएको छ।

बिजु जनता दल (बिजेडी) बाट निर्वाचित उम्मेदवार हेमेन्द्र चन्द्र सिंहको मृत्युपछि हुन लागेको उपचुनावमा सो दलले उनकै पत्‍नी प्रत्युषा राजेश्वरी सिंहलाई उम्मेदवार बनाएको थियो।

प्रत्युषा नेपालको राजघरानामा जन्मिएकी हुन्। उनको विवाह  नयागढ राज्यको बाघेला वंशका हेमेन्द्रसँग भएको थियो।

विवाहलगत्तै भारतीय नागरिकता लिनुपर्ने भए पनि उनले त्यसो नगरेको र अझै नेपाली नागरिक नै रहेको आरोप स्थानीय विपक्षी नेता नरसिंह मिश्रले लगाएको इन्डियन एक्सप्रेसले जनाएको छ। बिजेडीले भने त्यसको खण्डन गरेको छ।

नेपाली नागरिक भएको थाहा पाउँदापाउँदै प्रत्युषालाई बिजेडीले उम्मेदवार बनाएको भन्दै मिश्रले आमसभामा विरोध गरेका थिए। उनले यो आरोप सही ठहरिए चुनाव स्थगित हुनेमात्र नभई कानुनी कारबाही पनि हुने बताए।

बिजेडीका प्रवक्ताले भने उनको जन्म राँचीमा भएको र शिक्षा पनि भारतमै भएको दावी गर्दै राज्यको मतदाता नामावलीमा समेत उनको नाम भएकोले विपक्षीको दावी आधारहीन भएको बताएका छन्।

विपक्षीले उनी बाहिरिया भएको, उडिया भाषा बोल्न नआउने भन्दै चुनाव प्रचार गरिरहेका छन् भने प्रत्युषा आफू 'उडिया बहु' भएको जिकिर गर्दै चुनाव प्रचारमा लागेकी छिन्।

यो सिटमा हुन लागेको निर्वाचनमा बिजेडी, कांग्रेस र बिजेपीबीच त्रिपक्षीय भिडन्त हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
 
Top