पारस शाह लागुऔषध ओसार-पसारमै संलग्न रहेको थाई प्रहरीको दाबी, १० वर्ष जेल सजायँ हुने
२८ असोज, काठमाडौं ।
थाइल्याण्डको प्रहरीले पूर्वयुवराज पारस शाह लागुऔषधका अम्मलीमात्रै नभई ओसार पसारमा समेत संलग्न रहेको दाबी गरेको छ । यस्तो अभियोगमा उनलाई १० वर्ष कैद सजायँ हुन सक्ने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार पारसका साथबाट लागुऔषध गाँजाको पार्सल समेत फेला परेपछि उनी लागुऔषधका अम्मलीमात्रै नभएर ओसारपसारमा समेत संलग्न रहेको थाई प्रहरीले नेपाली दूतावासका अधिकारीहरुलाई जानकारी दिएको छ ।
पारस यसपटक निकै कठीनखाले मुद्दामा परेकाले तत्काल छुट्ने सम्भावना नरहेको बताइएको छ । यो जानकारी मन्त्रालयका अधिकारीहरुले पूर्वराजपरिवारलाई पनि गराइसकेको जनाएको छ । पारसको साथबाट बरामद भएको पार्सलमा मेथाम्फेटामिन र मारिजुवयना (गाँजा) नामका दुई अलग-अलग पोका लागुऔषध बरामद भएको जानकारी त्यहाँको प्रहरीले बैंककस्थित नेपाली दूतावासलाई गराएको छ । मारिजुयना भन्दा मेथाम्फेटामिन कडा लागुऔषध भएकाले उनीविरुद्ध कडा कानुनी कारवाही हुने जनाएको छ ।शाहको कानुनी लडाइमा सघाउन र उनलाई छुटाउनका लागि आइतवारमात्र पूर्वराजपरिवारले उनका पूर्वस्वकीय सचिव राजेश सिंहलाई बैंकक पठाएको थियो । उनी जानुअघि नै हुण्डीमार्फत ७ लाख थाई भाट रकम पनि पठाइएको स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार थाई कानुनअनुसार पारस शाह विरुद्ध त्यहाँको अदालतमा लागु औषध नियन्त्रण ऐनअनुसार पहिलो श्रेणीको मुद्दा दायर हुँदैछ । यदि यो अभियोग पुष्टि भएमा उनले दश वर्ष जेल सजायँ वा दुई लाख थाई भाटसम्मको जरिवाना तिर्नुपर्नेछ ।
