खैरहनी । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था खैरहनी नगरपालिका–५ दुर्गामन्दिरले खानेपानी प्रणाली तथा ओभरहेड ट्याङ्कीको निर्माण गरेको छ । खानेपानी परियोजनाको शिलान्यास सोमबार खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले गरेका हुन् । यस आयोजनाको कूल लागत १७ करोड सात लाख ७९ हजार २१ रूपैयाँ रहेको छ । जम्मा लागतको ७०∞ रकम १३ करोड २९ लाख ९६ हजार ५२ रूपैयाँ नेपाल सरकारबाट अनुदान र ३०∞ रकम तीन करोड ७७ लाख ८२ हजार ९६९ रूपैयाँ उपभोक्ता संस्थाको आन्तरिक स्रोत वा ऋणबाट लगानी गरिएको छ ।
संस्थाका अध्यक्ष शेरमान तमाङको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख शालिकराम पौडेल, खैरहनी वडा नं. ५ का वडा अध्यक्ष विश्वविजय बस्नेत र वडा महिला सदस्य राजकुमारी अछामीको सहभागिता रहेको थियो । खैरहनी नगरपालिकाको वडा नं. ५, ६, ७ र ८ को वडाभरी र खैरहनी न.पा. वडा नं. २, ४, ९ र रत्ननगर न.पा. वडा नं. ५ को केहीभागमा चौबिसै घण्टा शुद्ध र स्वास्थकर खानेपानीको सेवा उपलब्ध गराउँदै आइरहेको यस संस्थाको आयोजना क्षेत्रभित्र करिब ६ हजार ५०० घरधुरी रहेकोमा हाल तीन हजार ४०० धारा जडान भइसकेको संस्थाले जनाएको छ । खबरसमृद्धी डट कम बाट साभार
!
