सामाजिक सञ्जाल फेसबुकमार्फत चिनाजान भई प्रेममा परेका इटलीकी युवती र नेपाली युवाले कानूनी रुपमै विवाह गरेका छन् । बाराको कोल्हवी–४ हनुमानगञ्जका २७ वर्षीय प्रविण तामाङ र इटलीको तोरेदेलक्रे निवासी २१ वर्षीया फ्रेन्सिस्का इग्नराको जिल्ला प्रशासन कार्यालय बारामा कानूनी विवाह भएको प्रविणका छिमेकी हरिकृष्ण मैनालीले जानकारी दिए ।
गत अढाइ बर्ष अगाडि रोजगारीका लागि कोरिया पुगेका तामाङ त्यहीं रहँदा नै फेसबुकमार्फत इग्नरासँग चिनाजान भएको थियो । उनीहरुको परिचय विस्तारै प्रेममा परिणत भएपछि आफूहरुले विवाह गर्ने निधो गरे हिन्दु परम्परा अनुसार विवाह गरेको प्रविणले बताए । प्रविण दुई महिनाअघि मात्रै कोरियाबाट कोल्हवी फर्केका थिए भने इग्नरा इटलीबाट एक महिना अगाडी बारा आइपुगेकी हुन् । “बिहे गरेर निकै खुशी भएकी छु, नेपालको बारेमा सुनेकी मात्रै थिएँ, यहाँ आएर हिमाल देख्दा खुशीको सीमाना रहेन, त्यसमाथि प्रविणसँग विवाह भएपछि सपना पूरा भएको छ,” इग्नराले अंग्रेजीमा भनिन् । उनले प्रविण र आफू कानूनी प्रक्रिया पूरा गरी चाँडै इटली जाने पनि जानकारी दिइन् ।
