कुनै युवतीले फोन गरेर मिठो स्वरमा मायालु कुरा गर्दै साईनो जोड्ने प्रस्ताव गर्यो भने धेरै पुरुषहरु मख्ख पर्दै भेटघाट गर्न हतारिन्छन् । युवतीको यस्तै मायाँजालमा फस्दा नेपालका धेरै ब्यापारीहरुको ज्यानै जोखिममा परेको छ । घरकी श्रीमती र बालबच्चालाई छक्याएर परस्त्रीसंग रात बिताउन खोज्नेहरु आफु अपहरणमा परेका मात्रै छैनन, आफ्नै ज्यान समेत गुमाएर परिवार र आफन्तलाई समेत रुवाएका छन् ।



घटना नं. एक



दाङका ब्यापारी राजकुमार श्रेष्ठलाई जेठ २६ गते साँझ एउटी युवतीले फोन गरिन् । मायालु कुरा गरेर भेट्न बोलाएपछि उनले मन थाम्न सकेनन् । युवतीले भने अनुसार गर्दै कसैलाई थाहा नदिई बोलाएकै ठाउँमा पुगेका व्यापारी रातभर हराए । देशभरका ब्यापारीबीचमा खैलाबैल मच्चियो । उनको खोजी तीब्र भयो । घर परिवार, प्रहरी, ब्यापारी, साथीभाई सबै खोजी कार्यमा जुटे । खोज्दा खोन्दै साता बित्यो । दुई साता बित्यो । २२ औं दिनमा उनको लाश सल्यानको छत्रेश्वरी गाउँपालिकाको रैजीकुटी जंगलमा ढुंगाका थुप्रोमा भेटिएपछि अपहरणमा परेर मारिएको पुष्टि भयो । एक युवती र दुई जना भारतीय नागरिकले श्रेष्ठलाई अपहरण गरी सल्यान पुर्याएको अनुसन्धानबाट पत्ता लागेको छ ।



घटना नं. दुई



२०७३ पष ४ गते सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई युवतीले फोन गरिन् । मीठा कुरा गरिएपछि कुँवर पनि युवतीको लहैलहैमा लागे । युवतीले माया पिरतीको जाल बिच्छ्याएर आफुलाई अपहरण गर्न लागेको होसै पाएनन् । जब उनलाई प्रहरीले पत्ता लगाएर उद्धार गर्यो, उनी बल्ल अपहरणमुक्त भए र घटनाको पोल खुल्यो ।



घटना नं. तीन



२०७३ माघ २३ गते नेपालगञ्जका घर जग्गा व्यवसायी केशरबहादुर रोकायालाई एक युवतीले फोन गरी भेट्ने प्रस्ताव गरिन् । युवतीप्रति आशक्त भएर रोकाय पनि भने अनुसार गर्दै गए । घटनाको अनुसन्धानले रीता गुरुड.लाई प्रयोग गरी फिरौति असुल्ने नियतले उनको अपहरण गरिएको थियो ।



घटना नं. चार



काठमाण्डौको मखनमा सारी पसल चलाउँदै आएका श्यामसुन्दर अग्रवाल २०७३ फागुन ५ गते मायाल् स्वरमा फोन गर्ने युवतीसँग भुतुक्कै भए । सुन्धारामा भेटघाट गरेर माया पिरती साँट्ने योजना अनुसार त्यहाँ पुगेका उनले साढे पाँच घण्टासम्म अपहरणकारीको बन्धक बने ।



अग्रवालसँग भएको ७२ हजार नगद, आठ लाख रुपैयाँको चेक लिएर अपहरणकारीहरु भागेपछि हात खुट्टा बाँधिएको र मुखमा पट्टी लगाईएको अबस्थामा अग्रवाल फेला परेका थिए । केही दिन पछि व्यापारी श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न राधिका श्रेष्ठको हत्या भयो । अपहरणका प्रमुख योजनाकार प्रकाश लामिछानेले राधिका श्रेष्ठको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । राधिका अग्रवालकै सारी पसलमा काम गर्ने युवती थिइन । हत्याको योजना खुल्ने डरले प्रकाशले राधिकाको हत्या गरेको प्रहरीको निश्कर्ष छ ।



घटना नं. पाँच



२०७४ असार २ गते काठमाण्डौ बत्तिसपुतलीबाट कोमानन्द खड्का, आशिका परियार, नवीन कुमार राई र कोल बहादर थापा मगर पक्राउ परे । उनीहरु सुन्दरीहरुलाई प्रयोग गरी प्रेमको नाटक गर्ने, यौन सम्पर्क गर्न कोठामा लैजाने र त्यही मौकामा नियन्त्रणमा लिएर फिरौती असुल्ने धन्दा गरेको पोल उनीहरुबाट खुल्यो । युवतीको मायाँ जालमा ब्यापारीहरुले आफ्नो धन सम्पति मात्रै गुमाएका छैनन, गहिरो तनाव र पीडाका साथै ज्यानै समेत गएको छ ।



पछिल्ला बर्षहरुमा अपराधका घटनाहरुमा युवतीहरुको प्रयोग र संलग्नता बढ्न थालेकाले त्यसप्रति सबै सचेत हुनुपर्नेमा प्हरलिे जोड दिएको छ । Merolagani

 
Top