सन्तकुमार चाैधरी चितवन १७, असार । लुटपाटको क्रममा गोली हानेर हत्या गरिएका चितवनको गंगासागर महतोको हत्याका मुख्य योजनाकारलाई चितवन प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य योजनाकार पर्वत पकुवा गाविस वडा नं. ९ का २७ वर्षिय कृष्ण शाही ठकुरीलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । शाही चितवनको भरतपुर महानगरपालिका वडा नं. २७ ढेवौली स्थ्ति ससुरालीमा बस्दै आएका थिए ।
घटना भएदेखि फरार भएका शाहीलाई नेपाल प्रहरीको प्राविधिक टिमले भारतको नयाँ दिल्लीबाट पक्राउ गर्न सफल भएको शनिवार भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । चितवनका प्रहरी उपरीक्षक दिपक थापाका अनुसार पक्राउ परेका शाही घटनाका योजनाकार हुन् । जेठ ५ गते शुक्रनगर स्थित सउनी महतोको घरमा हातहतियार सहित पुगेका अज्ञात व्यक्तिहरुले लुटपाट गर्न थालेपछि घरका परिवारले प्रतिकार गर्ने क्रममा सउनी महतोका छोरा गंगासागर महतोलाई गोली हानेर हत्या गरेका थिए । गोली हान्ने गंगा सागरका आमा सउनी महतो र बैनिलाई नियन्त्रणमा लिएर हथौंडा, रड र खुकरी प्रहार गर्ने मुख्य अभियुक्त शाहीनै रहेको प्रहरीको दावी छ ।
४७ जना व्यक्तिसँग गरेको प्रहरीले अनुसन्धान पछि मुख्य अभियुक्तको रुपमा शाहीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । लुटपाटको क्रममा अभियुक्तहरुले प्रयोग गरेका हम्बर, हथौडा, पेस्तोल, खुकुरी चक्कु लगायतका सामाग्री समेत प्रहरीले बरामद गरेका छन् । उनीहरुले लुटपाट गरेर लगेको नगद, सुनचाँदीका गहना, मोबाईल समेत प्रहरीले बरामद गरेको छ । त्यस अघि घटनामा संलग्न नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं. १० अरुण खोलाका १९ वर्षिय नारायण विक र सोही वडाका २१ वर्षिय लक्ष्मण परियारलाई चितवन प्रहरीले पक्राउ गरि सार्वजनिक गरिसकेको छ । पक्राउ परेका तीनैजनालाई खुनडाँका अपराध ऐन अन्तर्गत मुद्धामा कार्वाही गरिने चितवन प्रहरीले जनाएको छ ।

