चितवन हात्ती महोत्सबको तयारी तिब्र, हात्ती पोलो र हात्ती श्रृगार प्रतियोगिता थप
चितवन, ०२ पुस । पर्यटकीय नगरी सौराहामा हरेक बर्ष जस्तै यस बर्ष हुने चितवन हात्ती महोत्सव २०७३ को तयारी तिव्र पारिएको छ । १३ औ संस्करणको महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । विगतमा हामीले ३ मात्रै महोत्स गर्दै आएको थियौ– क्षेत्रिय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक दिपक भट्टराईले भने । पर्यटकहरुलाई थप आर्कषित गर्न चितवनबाट हराएको हात्ती पोलो थप गरेका छौं ।
वन्यजन्तु मैत्री बनाउन हात्ती दौडलाई हटाएर हात्ती फाष्टवाक प्रतियोगिता समेत गरिने उनले बताए ।
यति वेला प्रतियोगीताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापन देखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी तिव्र पारिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । हात्ती महोत्सवका कारण चितवनको सौराहा नगरी दुलही झैं सिंगारिदै र सौराहाका मुख्य बजार, होटल, पार्क, रिर्सोटहरु सजाउने काम भईरहेको उनले बताए ।
हात्ती पोलो चितवनबाट नै सुरु भएकोले यस पटकको महोत्सवमा हात्ती पोलो विशेष आर्कषण बन्ने हात्ती पालो खेल व्यवस्थापन समिति स.योजक शंकर शैजुले बताए । पर्यटक आउदा चितवनमा हात्ती पोलो किन नहुने भनेर धेरै प्रश्न गरे –उनले भने । हामीले पनि धेरै महसुश गरेपछि यहाँका सबै व्यवसायीहरुको पहलमा यो खेल हुन लागेको हो ।
यसैगरि दुई बर्ष अघिदेखि थप गरिएको हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्कर, धान, केरा, काउली, बन्दा, उखु स्याउ, सुन्तला लगायतका अन्य परिकारहरु खवाईने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक योगेन्द्रनाथ अधिकारीले जानकारी गराए ।
महोत्सव क्षेत्रीय होटल संघ सौराहाको मुख्य आयोजना तथा चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन, रत्ननगर नगरपालिका, मृगकुञ्ज उपभोक्ता समिति,युनाईटेड हात्ती सञ्चालन सहकारी, सौराहा बचत र सौराहा पर्यटन व्यवसायी समुह तथा रेवान सौराहाको सह आयोजनामा कार्यक्रम हुन लागिएको हो ।
महोत्सवले हात्ती र मानव विचको सम्वन्ध प्रकाग गराउन सहयोग गर्ने र यसबाट पर्यटक प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने संघका अध्यक्ष सुमन घिमिरेको विश्वास छ ।बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हात्तीका गतिवधि सहित उक्त महोत्सवमा यसबर्ष हात्ती फाष्टवाक प्रतियोगिता, हात्ती पोलो प्रतियोगिता, हात्तीका छावाहरु वीच रोमाञ्चक फुटवल, हात्ती श्रृंगार प्रतियोगिता, टाँगा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता रहेका छन् ।
