भरतपुर,२८ मंसिर ।
भरतपुर विमान स्थलको स्तरोन्नति गर्न समस्या देखिएको छ । आसपासमा बनेका मापदण्ड विपरितका घरहरु बनेपछि धावन मार्ग विस्तार गर्न समस्या देखिएको छ । हुस्सु लागेका बेला अवतरणमा समस्या हुने गरेको छ । अवतरणमा देखिएको समस्यालाई लक्षित गरेर उत्तरतर्फ रहेको सेनाको घोडा फर्मलाई स्थानान्तरण गरेर चार सय मीटर धावन मार्ग बढाउन सकिने सहितको सुझाव २०७१ जेठ ११ गतेनै मन्त्रालयमा पठाइएको थियो ।


तर, सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो सुझावलाई अघि बढाउन सकेको छैन । “अवतरणमा समस्या आएपछि राय सहितको सुझाव केन्द्रीय तहमा पु¥याइयो”, भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले भने,“दुई वर्ष अघि जानकारि गराइएको थियो, तर प्रगति भएन ।” घोडा फर्ममा अरवौं लगानी सरकारले गरेको छ । पदमपुर, शक्तिखोर लगायत क्षेत्रमा घोडा फर्म स्थानान्तरण गरि धावन मार्ग बढाउन सकिने योजना त्यसै अलपत्र रहेको उनले बताए । “यूनिक कोलेनिका अग्ला घरहरु अवरोधका रुपमा छन्”, उनले भने,“अवतरण गर्दा घरनै छोइएला जस्तो डर छ, उडान सुरक्षा चुनौतिमा छ ।”


उनले भने,“मापदण्ड विपरितका घरहरु भत्काइनुपर्छ ।” भरतपुर विमानस्थल मापदण्ड विपरित निर्माण भएका भौतिक संरचना सम्बन्धमा राय सिफारिस सहितको प्रतिवेदन गर्न गठित समितिले २ सय ५७ घरहरु मापदण्ड विपरित रहेको जनाएको थियो । मापदण्ड विपरितका भवनहरु भनि पहिचान गरिएपनि कारवाही प्रक्रिया अघि बढेको छैन । विमानस्थलको ५० मिटर आसपासमा ८९ घर मापदण्डविपरीत छन् । दुई सय ५९ मिटरमा ६७ र चार सय ५९ मिटरमा एक सय एक घरले मापदण्ड उल्लंघन गरेका छन् । स्थानीय तथा राजनीतिक दलहरु नगरपालिकाको मुख्य कमजोरी रहेको ठान्छन् ।


“नक्सा स्वीकृति भन्दा बढी तला थप भएका घरहरु पहिलो प्राथमिकतामा राखेर भत्काउनुपर्छ”, उनले भने,“विमानस्थल चितवनवासीको हो ।” भरतपुर विमानस्थलमा ठुला जहाज चलाउने योजना अघि सार्न समेत समस्या भएको बताए । सोमबार भरतपुर विमानस्थल र वायु सेवा कम्पनीहरुले उपलब्ध गराउने सेवा सुविधाका विषयमा सरोकारवालाहरु बीचमा अन्तरक्रिया गरिएको थियो । “प्लटिङ पहिले आसपासमा घर बनाउँदा सर्वसाधरणहरु विमानस्थलमै आएर घर बनाउन हुने नहुने सोद्थे”, विगत स्मरण गर्दै उनले भने,“प्लटिङ भएपश्चात धमाधम घरहरु बन्न थाले ।”


भरतपुर विमानस्थलका लागि सरकारले २०१५ सालमा करिव डेढ सय विघा जग्गा छुट्टाएको थियो । २०२१ सालदेखि भरतपुर विमानस्थलमा नियमित उडान सुरु भएको थियो । २०३८ देखि ०४२ सालसम्म र २०३९ सालमा अस्थिर राजनीतिले गर्दा विमानस्थल सञ्चालनमा आएको थिएन । भैरहवा, पोखरामा लागि समेत उडान हुने गर्दथे ।


हाल यति एयरलाइन्सका तीन वटा जेटस्ट्रीम तीस सिट क्षमताका विमान र बुघ यएरका एटीआर ४७ सीट क्षमताका विमानहरुले उडान भर्छन् । विगतमा विमानस्थलहुँदै कृष्णपुर जान रिक्सा, मोटरसाइकल जाने गोरेटो समेत थियो । “०५५ सालदेखि विमानस्थल स्तरोन्नति गर्न सुरु भएको हो”, प्रमुख उपाध्यायले भने,“आसपासका मापदण्ड विपरितका घरहरु अहिले मुख्य समस्याका रुपमा छन् ।” उनले विमानस्थल स्थानान्तरण नहुने जीकिर गरे । “विमानस्थल सार्ने कुरा हुदैन”, उनले भने,“बरु विमानस्थलको स्तरोन्नती हुन्छ ।”


संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका विमानस्थलबारे हेर्ने शाखाका उपसचिव हरि खड्काले विमानस्थललाई ठुला जहाज अवतरण गर्नेगरि स्तरोन्नतीको पहल भैरहेको बताए ।
“प्रदेश नम्बर तीनको महत्वपूण विमानस्थलका रुपमा भरतपुर विकास हुन सक्छ”, उनले भने,“आसपासका वस्तीले स्पष्ट समस्या सहित मन्त्रालयमा मागहरु पेश गर्नुस, हामी काम अघि बढाउँछौं ।” चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले विमानस्थलका अन्य जिल्लाहरुमा समेत उडान सुरु गर्न आग्रह गरे । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले सेवा विस्तार गर्न आग्रह गरे । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले विहानी तथा रात्री उडान सुरु गर्न आग्रह गरे । “विमानस्थलमा बरु साना विमानहरु चलाउँ”, उनले भने,“विमान सार्ने कुरा सजिलो छैन ।”


विमानस्थल पीडित कहिलेसम्म बन्ने ?
भरतपुर विमानस्थल आसपासका वस्तीमा नगरपालिकाले नक्सा पास रोकेको छ । त्रिचोक, कटहर चोक, गौतमचोकहँदै सृजनाचोक, पृथ्वी टोलमा नक्सा पासको काम रोकिएको छ । “आसपासमा घर जग्गाको नक्सा पासनै रोकिएको छ”, भरतपुर विमानस्थलपीडित संघर्ष समितिका अध्यक्ष श्यामकुमार गिरीले प्रश्न गरे, “प्लाटिङ नरोक्ने अहिले नक्सा पास गरेर हुन्छ ?” समिति तथा राजनीतिक दलहरुले ०७१ साउन १७ गते स्थानीय विकास मन्त्रीलाई, जेठ १६ गते पर्यटन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए । सोहि सालको कार्तिक १९ गते प्रधानमन्त्रीलाई बसोबासको स्थाइत्व दिलाउन माग राख्दै अनुरोध पत्र बुझाएका थिए । “सम्मानपूर्वक बाच्न पाउने हक, उद्योग तथा वित्तिय संस्थाबाट ऋण लिई व्यापार गर्ने स्वतन्त्रता गुमेको छ”, उनले भने, “विमानस्थल पीडित कहिलेसम्म बनिरहनुपर्छ ।” घर बनाउने तयारी गरेकाहरु घर बनाउनबाट वञ्चित भएको बताए ।


“हामीले एयरपोर्ट विस्थापन हुनुपर्छ भनेका छैनौं”, संघर्ष समितिका प्रवक्ता बलराम जीसीले भने,“पहिले नक्सा पास गर्नेलाई किन कारवाही हुन सक्दैन ?” कहिँ ठुला ठुला तलाका भवनहरु बनाउन स्वीकृत दिने, कतै बनेका घरहरु पनि भत्काउने त्रास फैलाउनु न्यायपूर्ण नरहेको बताए । “नगरपालिकाकै मिलेमतोमा तत्कालिन अवस्थामा आसपासमा प्लटिङ सुरु भयो”, राप्रपाका नेता बद्री तिमिल्सेनाले भने, “बनेका घर भत्काउने चर्चा गरेर मात्रै हुदैन, नक्सा पास दिनेलाई कारवाहिको दायरामा ल्याउनुपर्छ ।” उनले विमानस्थल सार्ने रणनीति मन्त्रालयको भए चितवनका राजनीतिक दलहरुले उचित विकल्प दिने बताए ।


“विमानस्थल सानो हुँदै गएको छ”, उनले भने,“घोडा फर्म सारौं, फराकिलो पारौं वा मेघौलीमा स्थानान्तरण गरौं ।” कांग्रेस चितवनका सचिव उत्तम जोशीले विमानस्थलको मापदण्ड विपरित भवन निर्माण हुँदा सुरुमै रोक्ने काम नभएको भन्दै आक्रोश पोखे । “नगरपालिका, विमानस्थल घरहरु बन्दा मौन बसे”, उनले भने,“सयौं घरहरुलाई मुआब्जा दिएर सार्ने कुरा जटिल छ, बरु विमानस्थलको विकल्प सोचौं ।” एमाले चितवनकी उपसचिव सूर्यबदना हमालले आसपासमा बनेका घरहरु हटाउने कार्यको चर्को विरोध गरिन् । प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टले आसपासका वस्ती उठाउने काम चुनौतिपूर्ण रहेको बताए । “विमानस्थलले सेवा विस्तार गर्दा वृहत रुपमा सोच्नुपर्ने अवस्था रहेछ”, उनले भने,“जनतालाई चित्त बुझाएर निकास खोज्नुपर्छ, समस्या समाधान गर्न सक्रिय रुपमा लाग्नेछु ।”

साभार : खबर चितवन 

 
Top