मिस टीन चितवनको उपाधि सूचनालाई
भरतपुर,१७ पुस। मिस टीन चितवन–२०१६ को ताज सूचना शर्मा (प्रतियोगी नम्बर २८) ले पहिरिएकी छन् । नारायणगढ भृकुटीपथकी १४ वर्षकी शर्माले सहभागी ३० प्रतियोगीलाई पछाडि पार्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा शुक्रबार भएको अन्तिम प्रतिस्पार्धामा उनलाई गत संस्करणकी विजेता सुहाना क्षेत्रीले ताज र स्यासे लगाइदिइन् । शर्माले एटुजेड मोबाइल हाउसको तर्फबाट रु ४० हजार बराबरको ओप्पो क्यामरा फोन प्राप्त गरिन् ।
प्रतियोगिताको फस्र्ट रनर अपको ताज सविना श्रेष्ठ (प्रतियोगी नम्बर ४) ले पहिरिइन् । उनलाई गत संस्करणकी फस्र्ट रनर अप अस्मिता लामाले ताज र स्यासे लगाइदिइन् । श्रेष्ठले नगद रु. १० हजार प्राप्त गरिन् । त्यस्तै यसवर्षको मिस टीन चितवनको सेकेण्ड रनर अपको ताज कविता क्षेत्री (प्रतियोगी नम्बर २०) ले पहिरिएकी छन् । उनलाई गत संस्करणकी सेकेण्ड रनर अप रेमिना गिरीले ताज र स्यासे लगाइदिएकी थिइन् । क्षेत्रीले नगद रु. ५ हजार प्राप्त गरिन् । थर्ड रनर अपको ताज भने सिरिका पौडेल (प्रतियोगी नम्बर ६) ले प्राप्त गरिन् ।
उनलाई गत संस्करणकी इभेन्ट कोरियोग्राफर तथा इभेन्ट म्यानेजर गुड्डी जोशीले ताज र स्यासे लगाइदिएकी थिइन् । पौडेलले नगद रु. २५ सय प्राप्त गरिन् । त्यस्तै अन्य विधामा अर्गनाइजर च्वाइसको उपाधि समीक्षा लामा (प्रतियोगी नम्बर ७) ले पाइन् । भ्यूअर्स च्वाइस उपाधि अल्का श्रेष्ठ (प्रतियोगी नम्बर २७) ले आफ्नो नाममा दर्ता गराइन् । यस विधाको छिनोफानो टिकटमा राखिएको मतबाट गरिएको थियो । मिस मल्टिमिडिया विधाको उपाधि आश्मा मगर (प्रतियोगी नं. २६) को नाममा गयो । उनले सामाजिक सञ्जाल फेसबुकमा प्राप्त गरेको लाइक्सको आधारमा मिस मल्टिमिडिया घोषित भइन् । कार्यक्रम आयोजक मीना झाको अध्यक्षता तथा मिस्टर नेपाल २०१५ सन्दीप पोखरेल प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सन् २०१३ मा यस प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको थियो ।
