रत्ननगरले ३० करोडको बजेट ल्याउँदै
भुगोलका आधारमा वजेट विनियोजन गर्न सुझाव
रत्ननगर,६ पुस ।
रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागी करिव ३० करोडको बजेट ल्याउन लागेको छ । २१ औं नगरपरिषदको पुर्व सन्ध्यामा मंगलवार आयोजित नगरस्तरीय पुर्व योजना तर्जुमा गोष्ठीमा आगामी आर्थिक वर्षका लागी अनुमानित २९ करोड ४९ लाख ३५ हजार रुपैयाको बजेट ल्याउन लागेको जानकारी दिइयो ।
यो चालु आर्थिक वर्षको भन्दा १० करोड ९२ लाख बढी हो । जस मध्ये ४ करोड २२ लाख ३५ हजार आन्तरीक श्रोतबाट उठाउने लक्ष्य छ भने वाँकी वाह्य श्रोतबाट आम्दानी हुने नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिए । ढुङ्गानाका अनुसार २४ करोड ६३ लाख नगरपालिका शसर्त अनुदान,५८ लाख निशर्त अनुदान र जिल्ला विकास समितिबाट ५ लाख रुपैया अनुदान प्राप्त गर्ने अनुमान छ । कुल बजेटको करिव १२ करोड रुपैया सामाजिक सुरक्षा भत्तामा मात्रै खर्च हुने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सुचना अधिकारी लिलानाथ अर्यालले वडास्तरीय पुर्वाधार निर्माणका कार्यक्रमका लागी वजेट सिलिङ प्रस्तुत गरे । आगामी आर्थिक वर्ष प्रति वडा ११ लाख रुपैया बजेट विनियोजन गरिएको सुचना अधिकारी अर्यालले बताए ।
जस मध्ये ४ लाख ५० हजार वडास्तरीय पुर्वाधार निर्माणका लागी विनियोजन गर्ने तयारी छ । प्रत्येक वडामा वालवालिका लक्षित कार्यक्रमका लागी २ लाख ११ हजार पाँच सय,महिला लक्षित कार्यक्रमका लागी २ लाख ,आदिवासी जनजाती लक्षित कार्यक्रमका लागी ३ लाख रुपैया बजेट विनियोजन गरिदै छ । सो अवसरमा आवधिक योजना २०६९–२०७४ को परिलक्षित कार्यक्रमको समेत जानकारी गराईएको थियो । गोष्ठीमा सहभागी प्राय सबै नगरबासीले भुगोल र जनसंख्याको आधारमा बजेट विनियोजन गर्न सुझाव दिए ।
वडास्तरीय वडा ज्यादै न्युन भएको भन्दै उनीहरुले भुगोल र जनसंख्याको आधारमा बजेटका तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । कार्यक्रममा वडा नागरीक मंच रत्ननगर ८ की संयोजक पार्वती पौडेलले वडाको क्षेत्र अनुसार बजेट विनियोजन गर्न आग्रह गरिन् । कुनै वडा ठुला छन् त कुनै वडा ठुला छन संयोजक पौडेलले भनिन् सबैलाई एउटै वजेट दिदा ठुला वडा मारमा पर्छन् । नगरपालिकाले वजेटमा प्रत्येक वडाले समान पाउने गरी विनियोजन गर्दै आईरहेको छ । पिठुवाका स्थानिय दण्डपाणी लामिछानेले वजेट विनियोजन कर्मकाण्डी भएको भन्दै वैज्ञानिक आधारमा विनियोजन गर्न सुझाव दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानाले आन्तरीक श्रोतको खोजी गरी नगरपालिकालाई वलियो वनाउन सवै नगरवासीले सहयोग गर्नु पर्ने औल्याए ।
कार्यक्रममा संस्थापक नगर प्रमुख नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महिला तथा वालवालिका कार्यालयकी अधिकृत कलावती ओझा, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामचन्द्र सुवेदी, व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर वगाले, पिठुवाका हरिकुमार श्रेष्ठ लगायत राजनितिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले आआफ्ना सुझाव दिएका थिए । सो अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले स्थानियबाट आएको सुझावलाई आगामी नगरपरिषदमा प्राथमिकीकरण गरेर समावेश गर्ने वताए । यही पुष २८ गते रत्ननगर नगरपालिकाले २१ औं नगरपरिषद गर्ने तयारी गरेको छ । नगरपरिषदको पुर्व सन्ध्यामा नगरपालिकाले यही पुष ११ गतेदेखी वडा भेला समेत गर्दैछ ।
