विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ। यो खबर आजको कान्तिपुरमा बलराम बानियाँले आर्थिक पृष्टमा लेखेका छन्।
सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हुँदै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मर्स्याङ्दी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ।
अधिकारीले अंग्रेजी नयाँ वर्षसँगै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए। प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो।
अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो। तर, ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण गर्न बाँकी एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो।
 
Top