पौरख र पसिनामा रमाउँदै गैंडाकोटकी साबित्री
गैँडाकोट । गैंडाकोट–२ स्थित पुलचोककी साबित्री परियारको दैनिकी हेक्सा, हँसिया अनि हथौडाबाट सुरू हुन्छ । बिहान उज्यालो भएदेखि उनी यी हतियारहरु साथमा लिएर आफ्नो दैनिकीमा तल्लिन हुन्छिन् । उनको पेसा हो, बाँसको ¥याक बनाउने अनि बेच्ने । करिब २०५६ सालदेखि नै उनी यो पेसामा आवद्ध छिन् । बिहानै उठेर सधैंजसो घरको काम सकेपछि बाँस काट्ने, खुक्र्याउने, चिर्ने अनि त्यसलाई किताब कापीलगायतका सामग्री राख्ने ¥याकको आकार दिने उनको मुख्य दिनचर्या हो ।यसरी नै उनले आफ्नो गुजारा चलाउँदै आइरहेकी छिन् । उनको श्रीमान् ठामू मगर भने ठेला चलाउँछन् । ‘श्रीमान्ले ठेला चलाएर कमाएको पैसा बालबच्चा पढाउनमा खर्च हुन्छ,’ उनी भन्छिन्, ‘मैले कमाएको पैसाले भने राम्रैसँग घरखर्च गर्न पुगेको छ ।’
त्यसो त उनी धेरै वर्षदेखि यो पेसामा आवद्ध भए पनि बीचमा भने धेरै पैसा कमाउने सपना बुनेर विदेश गइन् । एक छोरा र एक छोरीलाई श्रीमान्को साथमा छाडेर उनी पाँच वर्ष कुवेत र साँढे तीन वर्ष साउदी बसिन् । करिब साँढे आठ वर्षको समयमा उनले विदेश बसेर कमाएको पैसाले एउटा घर बनाइन् । अनि अहिले उनी फेरि पुरानै पेसामा होमिएकी छिन् ।
उनी भन्छिन्, ‘विदेश बसेर पनि के गर्नु ? काम गर्न सके आफ्नो देश जस्तो अर्काको देशमा हुँदैन ।’ विदेश जानु मान्छेको बाध्यता भए पनि नेपालमै पनि कमाउने विकल्पहरु खोज्न र रोज्न सकिने उनी बताउँछिन् । ‘आफ्नो काम र अर्काको काम कस्तो हुन्छ भनेर म विदेश गएपछि मात्रै थाहा पाएँ,’ सावित्री भन्छिन्, ‘आफ्नो भनेको आफ्नै हो । दुई पैसा कम कमाइ नै किन नहोस् ।’
अब भने उनी काम गर्न सकुञ्जेल यहीँ बसेर यही पेसालाई निरन्तरता दिने सोचमा छिन् । उनलाई फुर्सदका बेला सासु, सुसुरा तथा छिमेकीले साथ दिन्छन् । छोरा बुहारीसँग अलग भएर बसेका सासुससुराले काम गरेबापत ज्याला लिन्छन् । सबै काम एक्लैले नभ्याउने हुँदा अरुलाई ज्याला दिएर काम लगाउने गरेको उनले बताइन् । ‘काम हेर्दा सानो जस्तो लागे पनि मसिनो टुक्राटाक्री काठ जोडेर बनाउनुपर्ने हुँदा एक्लैले काम गर्न अलि अप्ठ्यारो हुन्छ,’ उनले भनिन् ।
‘यो पेसाबाट त्यति धेरै फाइदा नभए पनि गास, बास र कपासलाई राम्रैसँग पुग्याछ,’ उनले भनिन्, ‘बिक्रीको लागि बजारको अभाव छैन । बरु मागअनुसार उत्पादन गर्नै सकेको छैन ।
¥याक बनाइसकेपछि व्यापारीहरु घरैमा लिन आउने उनले बताइन् । कसैले अर्डर गर्न आए पनि अर्डरअनुसार नबनाउने उनी बताउँछिन् । ‘आफूले काम गर्दै गर्दा जति भ्याइन्छ, त्यति नै गर्ने हो,’ उनले भनिन्, ‘अर्डर लिएपछि अनिवार्य बनाउनै प¥यो ।’ घरपरिवार साँझ बिहान खानपिन बनाएर बालबच्चालाई ख्वाउनुपर्ने हुँदा अर्डरअनुसार काम गर्न नसकिने उनको भनाइ छ ।सुरूमा उनले तालिम लिन नपाए पनि काम गर्दैगर्दा लघु उद्यमीबाट तालिम लिने अवसरसमेत पाएकी परियारले पछि परासीमा भएका विभिन्न तालिमहरुमा प्रशिक्षकको रुपमा समेत सहभागी भइन् । तर, केही समय विदेश गएपछि भने सबैसँग सम्पर्क टुटेको उनले बताइन् ।
उनले प्रति¥याक २४० रूपैयाँ पाउँछिन् । तसर्थ नेपालमा रोजगारको व्यवस्था छैन भनेर दैनिकरूपमा नेपालका युवापुस्ता रोजगारका लागि भनेर विदेशको बाटो हेरिरहँदा उनी भने नेपालमै बसेर पनि कमाइ गर्न सक्ने बताउँछिन् । विदेशमा जत्तिको समय दिएर काम गरे आफ्नै घर परिवारसँग बसेर राम्रै आम्दानी गर्न सकिने उनको अनुभव छ ।
साभार : चितवन पोष्ट दैनिक
