चितवन–सडक विस्तारको कामलाई तिब्रता दिने भन्दै निर्माणधीन नारायणगढ– मुग्लिन सडक खण्ड आउज बिहीबारदेखि दैनिक दिउँसो चार घण्टा बन्द हुने भएको छ। राजधानी काडमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको सो सडक खण्ड मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।

 दुई वर्षसम्म निर्माण सक्ने गरेर सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तर भूकम्प र नाकाबन्दीका कारण काम सक्ने अवधि सन् २०१७ को सेप्टेम्बरसम्म पुर्याइएको छ।
अर्को सूचना जारी नहुँदासम्म यो बन्द कायमै रहने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए। अघिल्लो वर्षपनि माघ २८ गतेदेखि यसरी नै सडक बन्द गरेर काम गरिएको थियो। जुन समय सीमा असारमा मात्रै हटेको थियो । एसियाली मापदण्डको दुई लेनको सडक बनाउनकालागि विस्तारको काम सुरु भएको हो।

सवारी साधन बन्द हुने समयमा वैकल्पिक मार्ग अपनाउन आयोजनाले अपिल गरेको छ। पूर्व जाने सवारी साधनलाई बैकल्पिक मार्गहरु छोटोसमेत हुने आयोजनाले जानकारी गराएको छ। तर बैकल्पिक मार्ग ठूला सवारी साधनकालागि उपयोगी भने खासै छैनन्। काठमाडौंबाट पूर्व जाने सवारी साधनले बनेपाहुँदै बर्दिवास निस्कने बीपी मार्ग प्रयोग गर्न सक्ने छन्। यसो गर्दा १७७ किलोमिटर कम दूरी हुने छ।

 तर बीपी राजमार्ग साना सवारी साधन र केही मात्रामा मझौला सवारी साधनका लागि मात्रै उपयुक्त छ । नौबिसे हुँदै पालुङ हेटौंडा निस्कने बाटो त्रिभुवन राजपथ नारायणगढ मुग्लिन सडक खण्ड प्रयोग गर्ने रुट भन्दा १०८ किलो मिटर छोटो पर्छ। तर त्रिभुवन राजपथ १० मिटरभन्दा कम लम्बाइका सवारी साधन र कम भार बोक्ने ट्रकहरुका लागि मात्रै उपयोगी भएको सडक आयोजनाले जानकारी दिएको छ।

 त्यस्तै साना सवारी साधन काठमाडौंबाट बल्खुहुँदै हेटौंडा निस्कन पनि सक्ने छन् । यसो गर्दा १४६ किलो मिटर कम दूरी हुने छ। दूरी कम भएपनि वैकल्पिक बाटोहरु जिर्ण र कम फराकिलो भएका कारण साना सवारी साधनको पनि रोजाइमा पर्दैनन्। पश्चिम जाने सवारी साधनहरुले मुग्लिनबाट पोखर हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर स्याङ्जा बुटवल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न सक्ने छन् ।
 
Top